मलंगवा – बेमौसी झरीका कारण काँचो ईँट्टा गलेको भन्दै क्षतिपूर्तिको माग गर्दै सर्लाही इँटा उद्योग व्यवसायी संघले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाही पुगेर ईँट्टा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई ज्ञापनपत्र बुझाएका हुन् । गत शुक्रबार र शनिबार गरी दुई दिन परेको बेमौसी झरीका कारण सर्लाहीमा करिब ११ करोड काँचो ईँट्टा गलेर नष्ट भएको व्यबसायीले दाबी गरेका छन् ।
मलंगवामा बसेको व्यबसायीहरुको बैठकले ५ सुत्रीय माग राख्दै प्रजिअलाई ज्ञापनपत्र बुझाएको हो । संघका सचिव भगवान मैनालीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा बेमौसमी वर्षाको कारण ईँट्टा उद्योगमा भएको क्षतिको यकिन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, गैर कानुनीरुपले संचालनमा रहेको चेदरा भट्टाहरु यथासिघ्र बन्द गरियोस् वा कानुनी दायरामा ल्याउनुपर्ने, कच्चा ईँट्टाको बिमा गर्न बिमा कम्पनी तथा उद्योगीहरुको बीचमा सहजीकरण गरियोस्, कर मिनाहा गर्न सिफारिस गरियोस् र सहुलीयत ब्याज दरमा बैंक ऋणको व्यवस्था गरियोस् आदि विषय उल्लेख गरिएको छ । बेमौसिम झरीका कारण जिल्लामा रहेको ९३ वटा उद्योगमा करिब ११ करोड काँचो ईँट्टा गलेर नष्ट भएको संघका अध्यक्ष मेथुर चौधरीले बताएका छन् ।
एउटा काँचो ईँट्टा तयार गर्न ३ रुपैया खर्च हुन्छ । यसरी हिसाब गर्दा जिल्लामा करिब ईँट्टा व्यवसायीहरुको ३३ करोड रुपैयाको नोक्सान भएको जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष समेत रहेका ईँट्टा व्यबसायी संघ सर्लाहीका अध्यक्ष चौधरीले बताएका छन् । अहिले ईँट्टा उद्योग बन्द हुने अवस्थामा पुगेको र सानो पूँजी भएको उद्योगीको उठिबास हुने अवस्था आएकाे अध्यक्ष चाैधरीले गुनासाे गरे । जिल्लामा रहेका ईँट्टा उद्योग बन्द हुँदा करिब २७ हजार ९ सय जना बेरोजगार हुने संघका सचिव भगवान मैनालीले दाबी गरेका छन् ।
एउटा उद्योगमा सरदर ३ सयका दरले मानिसहरुले रोजगारी पाएका छन् । झरीले गर्दा उद्योगी र रोजगारी पाएको सबैको अवस्था दयनीय हुने मैनालीले बताए । बेमौसिम झरीले गर्दा ईँट्टा व्यवसायी धरापमा परेको व्यबसायी लाल बिहारी यादवले गुनासाे गरे । सुरुमा वा अन्त्यमा पानी परेको भए यति धेरै क्षति नहने उल्लेख गर्दै बीचमा पानी पर्दा बढी क्षति भएको यादवकाे भनाई छ ।
पन्ध्र दिनको फरकमा दुई चोटी पानी परेको छ । जसले गर्दा जिल्ला स्थित ईँट्टा भट्टामा निकै क्षति भएको यादवले बताए । उनका अनुसार अधिकांश उद्योगीले बैंक वा साहु महाजनसँग ऋण लिएर व्यवसाय गरेका छन् । हरेक उद्योगमा ४०/५० लाखको क्षति भएको छ ।
अब कसरी ऋण तिर्ने र उद्योग संचालन गर्ने भन्ने चिन्ताले सताउन थालेको यादवले बताए । बेमौसमी झरीले उद्योगीलाई उठिबास बनाएको छ । राज्यले क्षतिपूर्तिको व्यवस्था गर्यो भने केही राहत हुने यादवले बताए ।
फाेटाे क्याप्सन : साेमबार प्रजिअ थानेश्वर गाैतमलाई ज्ञापन-पत्र बुझाउँदै ईँट्टा व्यबसायी संघका अध्यक्ष मेथुर चाैधरी लगायत । (तस्बिर : उज्यालाे अभियान)