logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा काेराेना विरुद्द घुम्ती खाेप सेवा सुरु


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा आइतबारबाट घुम्ती खोप सेवा सुरु भएको छ ।

अष्ट्रेलियन एड/आड्रा नेपालको सहयोग र लालबन्दी नगरपालिकाको समन्वयमा बागमती सेवा समाजले नगर क्षेत्रमा कोरोना भाईरस विरुद्दको घुम्ती खोप सेवा सुरु गरेकाे हो । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले घुम्ती खोप सेवाको शुभारम्भ गरे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिना, बागमती सेवा समाज हरिवनका अध्यक्ष भरत कुमार कार्की लगायतको उपस्थिति थियो । घुम्ती खोप सेवा अन्तर्गत स्वास्थ्यकर्मीहरु खटाएर गर्भवती महिला, अपांगता भएका व्यक्ति र अशक्त व्यक्तिहरुलाई घरदैलोमै पुगेर खोप लगाइने बागमती सेवा समाजले जनाएको छ ।

सर्लाहीसहित मधेस प्रदेशका महोत्तरी, धनुषा र रौतहट गरी ४ जिल्लामा सञ्चालन हुने यो अभियानको गत शुक्रबार प्रदेश राजधानी जनकपुरधाममा उद्घाटन गरिएको थियो ।

जिल्ला स्थित हरिवन नगरपालिकाले भने २ साता अघि नै आफ्नै स्वास्थ्यकर्मी गाउँ-गाउँ खटाएर खाेज र खाेप अभियान सञ्चालन गरिरहेकाे छ । हरिवनमा भने उमेर पुगेका सम्पूर्ण नगरबासीलाई खाेप लगाउने र काेराेना भाईरस विरुद्दकाे खाेप मुक्त नगरपालिका घाेषणा गर्ने याेजना राखिएकाे हरिवन नगरपालिका काेभिड फाेकल पर्सन रामबाबु चाैधरीले जानकारी दिए ।
फाेटाे क्याप्सन : घुम्ती खाेप सेवा उद्घाटन गरिँदै । (तस्बिर : उज्यालाे अभियान)