जनकपुर – सर्लाहीसहित मधेश प्रदेशका चार जिल्लामा कोरोना भाइरस (कोभिड–१९) विरूद्द घुम्ती खोप सेवा कार्यक्रम सुरू भएको छ ।

अस्ट्रेलियाली सरकारको सहयोग, आड्रा नेपाल र बागमती सेवा समाज नेपाल सर्लाहीको साझेदारीमा सर्लाही, महोत्तरी, धनुषा र रौतहटमा घुम्ती खोप सेवाको प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले शुक्रबार शुभारम्भ गरेका हुन् । खोप नलगाएका गर्भवती, सुत्केरी, अशक्त अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा रोगी व्यक्तिहरूलाई घरमै स्टार्फ नर्स सहितको टोलीले खोप लगाउने बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार बागमती सेवा समाज नेपालबाट परिचालित स्टाफ नर्सको समन्वयमा खोपबाट बञ्चित वर्गलाई स्थानीय सरकारी निकायको कर्मचारीले घर दैलोमा गई खोप लगाइनेछ । मधेश प्रदेशमा अझै ३७ प्रतिशतले खोप नलगाएका तथा गर्भवती, रोगी र वृद्धवृद्धालाई खोप केन्द्रसम्म पुगेर खोप लगाउने अवस्था नरहेकाले घुम्ती सेवा सुरू गरिएको बागमती सेवा समाजका निर्देशक निरज भण्डारीले बताए ।
सुरूवाती चरणमा चार महिनाका लागि यो कार्यक्रम सुरू गरिएको र यो अवधिमा ३० हजारलाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री साहले भ्याक्सिनेसन कम भएको अवस्थामा घुम्ती कोभिड खोप सेवा महत्वपूर्ण रहेको बताउनुभएको कार्यक्रम संचालक बागमती सेवा समाज नेपालका गजेन्द्र साहले बताए ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विजय झा, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. मुक्ती, डा. प्रमाेद राय, आड्रा नेपालका कार्यक्रम प्रबन्धक पंकज भट्टराई, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री लगायतकाे उपस्थिती रहेकाे थियाे ।
फाेटाे क्याप्सन : कार्यक्रममा उपस्थित सामाजिक बिकास मन्त्री नवलकिशाेर साह लगायत । (तस्बिर : उज्यालाे अभियान)