logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा राजमार्ग अवरुद्ध गर्न खोज्ने जनमतका अध्यक्षसहित १० कार्यकर्ता पक्राउ


  • उज्यालो अभियान

बाँके – पूर्व–पश्चिम राजमार्ग बन्द गराउन खोज्ने जनमत पार्टी सर्लाहीका अध्यक्ष जवाहार यादवसहित १० जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आज दिउँसो पूर्व-पश्चिम राजमार्गस्थित बाँके चोकमा राजमार्ग बन्द गराउन खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । किसानको माग सम्वोधन गराउन भन्दै जनमत पार्टीले आजबाट पूर्व-पश्चिम राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ ।

उसले बिहिबार राजमार्ग बन्द गराउँदै राजमार्गमै खाना पकाउने र त्यहीँ खाना खाने कार्यक्रम तय गरेको थियो । तर सर्लाहीमा भने प्रहरीले राजमार्ग बन्द हुन दिएन् । बन्दलाई लक्षित गरी आज दिनभर पूर्व–पश्चिम राजमार्गमा सुरक्षा तैनाथी बढाइएको थियो । जनमतका कार्यकर्ता आउन लागेको थाहा पाउनासाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट डीएसपी माधव प्रसाद बुढाथोकीको कमाण्डमा बयलवास, लालबन्दी लगायतका स्थानबाट ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाँके चोक पुर्याइएको थियो ।

सर्लाहीमा बिहिबार बन्दको कुनै प्रभाव देखिएन् । पूर्व-पश्चिम राजमार्गमा दिनभर सवारी साधन संचालन भए भने बजारहरु पनि खुल्ला रहे । किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसान कार्ड वितरण गर्नुपर्ने, बालीको बीमा गर्नुपर्ने, किसानलाई निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने, बाली नष्ट हुँदा राहत दिनुपर्ने, कृषि उपजको मूल्य निर्धारण गर्नुपर्ने लगायतका माग राख्दै जनमत पार्टीले करिव डेढ महिनादेखि आन्दोलन गर्दै आइरहेको छ । जनमत पार्टीका कार्यकर्ताले सप्तरी, महोत्तरी, धनुषा, सिरहा लगायतका जिल्लाहरुमा भने राजमार्गमा टायर बालेर समेत प्रदर्शन गरेका छन् ।