सांकेतिक तस्बिर ।
हरिवन – सर्लाहीको सासापुरमा गत शुक्रबार राती १ जना पैदलयात्रीको ज्यान जाने गरी भएको दुर्घटनामा रात्रीबस संलग्न रहेको खुलेको छ ।
शुक्रबार राती ८ बजेतिर पूर्व–पश्चिम राजमार्गस्थित हरिवन नगरपालिका–४ सासापुर स्वास्थ्य चौकी अगाडि नम्वर र प्रकार खुल्न नसकेको गाडीले ठक्कर दिँदा त्यही ठाउँका ४० वर्षीय रामबली रामको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले निरन्तर अनुसन्धान गर्दै जाँदा रामबलीलाई सिरहाबाट काठमाडौं चल्ने ना. ७ ख ६३९ नम्वरको सपना बसले ठक्कर दिएको खुलेको हो ।
दुर्घटनापछि फरार बस र त्यसका चालकलाई प्रहरीले आईतबार काठमाडौंबाट नियन्त्रणमा लिएर हरिवन ल्याएको छ । बस र बसका चालक नवीन लामालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीले बस र चालक पहिचान गरेर नियन्त्रणमा लिएपछि मृतकका परिवारले आईतबार जिल्ला अस्पताल मलंगवा पुगेर मृतक रामबलीको शव बुझेका छन् ।