logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनमा घर–घरमै कोरोना खोप अभियान जारी


  • उज्यालो अभियान

तथ्यांक संकलन एवं कोरोना भाईरस विरुद्धको खोप लगाउन घर–घरमै पुगेका हरिवन नगरपालिकाका स्वास्थ्यकर्मीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकाको कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान जारी राखेको छ ।

हरिवन नगरपालिका स्वास्थय शाखाले कोरोना भाईरस विरुद्धको पहिलो र दोस्रो खोप लगाउन छुटेका नगरवासीलाई घर–घरमै पुगेर तथ्यांक संकलन गर्ने र खोप लगाउने अभियान साता अघिदेखि सूरु गरेको हो । वडा नम्बर ४ का मापदण्ड अनुसार सम्पूर्ण नगरबासीलाई खोप दिईसकिएको नगरपालिकाका कोरोना भाईरस फोकल पर्सन रामबाबु चौधरीले जानकारी दिए ।

पहिलो चरणमा हरिवन नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा खोज र खोप अभियान चलाईएको तथा दोस्रो चरणमा वडा नम्बर ८, ९, १० र ११ मा अभियान चलाईने स्वास्थ्य शाखाले जनाएको छ । हाल सासापुर स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र अत्रौली स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरु घर–घरमै परिचालन गरिएका छन् ।

चौधरीका अनुसार नगरपालिका अन्तर्गतका चारवटा स्वास्थ्य चौकीमध्ये तीनवटाले धमाधम घरदैलो कार्यक्रम गरिरहेको र हरिवन स्वास्थ्य चौकीले पनि शुक्रबारबाट अभियान सुरु गर्ने छन् । घरदैलो अभियान अन्तर्गत बुधबारसम्म १ हजार १८९ जनालाई घरमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

नगरपालिकालाई कोरोना भाईरस विरुद्धको खोप मुक्त नगर घोषणा गर्ने उद्धेश्यले चलाईएको अभियान अन्तर्गत वडा नं. ४ पूर्ण खोपमुक्त भइसकेको सासापुर हेल्थपोष्टका प्रमुख श्याम विनोद कुशवाहाले जानकारी दिए । हरिवनमा हालसम्म २३ हजार ८६३ जनाले कोरोना भाइरस विरुद्ध पूर्ण मात्रा खोप र ३४ हजार ४२० जनाले पहिलो मात्रा खोप लगाएका चौधरीले दाबी गरे ।

त्यस्तै लालबन्दी नगरपालिका–१५ मा पनि परवानिपुरका विकट गाउँहरुमा घर–घर स्वास्थ्यकर्मीहरु घुमेर कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । परवानिपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले त्यहाँको चिसापानी, तल्लो चिसापानी, कटहरबोट, सतभैया, बाहुनेडाँडा र अर्नेडाँडाका अशक्त, अपाङ, वृद्धवृद्धा लगायतलाई घरघरै पुगेर कोरोना विरुद्धको खोप लगाएका हुन् ।