लालबन्दी – सर्लाहीको गोडैता नगरपालिका वडा नं. ५ रामवनमा रहेको श्रीमती सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयमा सोमबार १२५ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट विद्यालयको बाल विकासदेखि कक्षा १ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाकाका निमित्त इकाई प्रमुख सुनिल कुमार कुशवाहा, विद्यालयका प्रधानाध्यापक राम प्रकाश महतो लगायतले विद्यार्थीहरुलाई स्वीटर वितरण गरेका थिए । यसअघि जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट बरहथवा नगरपालिकाको हजरियास्थित माध्यमिक विद्यालय र सदरमुकाम मलंगवामा रहेको पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पनि त्यसैगरी स्वीटर वितरण गरिएको थियो ।
त्यस्तै नेपालका लागि नेपाली पार्टीले सर्लाहीको रानीगंजमा सोमबार नेपाल पिछडावर्ग किसान संघ मधेश प्रदेशलाई ५ सय थान ब्लांकेट हस्तान्तरण तथा वितरण गरेको छ । उक्त पार्टीका उपाध्यक्ष डा. सुरेन्द्र भण्डारीले पिछडावर्ग किसान संघ मधेश प्रदेशका अध्यक्ष सुरेश यादवलाई एक कार्यक्रमका बीच ५ सय थान ब्ल्याङकेट हस्तान्तरण गरेका हुन् । अध्यक्ष यादवले नेपाली पार्टीद्वारा प्राप्त ब्ल्याङकेट मध्ये १५० थान सर्लाहीको रानीगञ्ज, रन्जितपुर, ईश्वरपुर–५ नरेशखोर, ईश्वरपुरकै वडा नं.—९ को रामनगरका जाडोबाट प्रभावित बिपन्न नागरिकलाई प्रदान गरिएको बताए ।
(फोटो क्याप्सन : नेपालका लागि नेपाली पाटीद्वारा प्राप्त ब्लांकेट वितरण गरिँदै । (तस्बिर : कृष्णप्रसाद थपलिया/उज्यालो अभियान)