मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा सोमबार नेकपा एकीकृत समाजवादीले आफ्नो जिल्ला पार्टी कार्यालय उद्घाटन गरेको छ ।
कोभिड सचेतना अपनाउँदै सानो कार्यक्रम बिच जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको पार्टी प्रचार बिभाग प्रमुख चूडामणि वाग्लेले जानकारी दिए । पार्टीका केन्द्रीय उपाध्यक्ष एबं मधेस प्रदेश इन्चार्ज धर्मनाथ साहले रिवन काटेर कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा मन्तब्य राख्दै उनले स्थानीय तहको चुनाब आगामी बैशाखमा गर्न नेपालको संबिधानले नै बाटो बन्द गरेको दाबी गरे । उनले संबिधानमा स्थानीय जनप्रतिनिधिको पाँच बर्षीय कार्यकाल पूरा भएको छ महिना भित्र चुनाब गराउने प्राबधान रहेको स्मरण समेत गराए ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रिय नेताहरु रबिन्द्र बैठा, डिल्ली उप्रेती, बेची लुङेली, जिल्ला उपाध्यक्ष देबेन्द्र राय, सचिब गोबिन्द अधिकारी, सहसचिब एवं हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर, मलंगवा नगर अध्यक्ष राजाराम साह लगायतले मन्तव्य राखेका थिए । मलंगवाको शिबसागर चोकमा खुलेको कार्यालय अब नियमित रुपमा खुल्ला रहने बताइएको छ । नेकपा एकीकृत समाजबादीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका अगुवा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
(फोटो क्याप्सन : पार्टी कार्यालय उद्घाटन समारोहमा उपस्थित नेताहरु । (तस्बिर सौजन्य : चूडामणि वाग्ले)