मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सहायक प्रमुख जिल्ला अधिकारी र थप एक जना प्रशासकीय अधिकृत हाजिर भएपछि सेवा प्रवाहमा सहजता आएको छ ।
कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयबाट उपसचिव नरहरि घिमिरे तथा जिल्ला प्रशासन कार्यालय जलेश्वर, महोत्तरीबाट प्रशासकीय अधिकृत रामेश्वर यादव सरुवा भइ आएका हुन् । यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल सरुवा भइ गएपछि सर्लाहीको जिल्ला प्रशासन कार्यालय झण्डै एक महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहिन रहेको थियो । यसअघिका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेललाई गृह मन्त्रालयले सर्लाही जिल्ला लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारीबिहिन रहेको अवस्थामा बल्ल सरुवा गरेर पठाएको थियो ।
यस्तै, जिल्ला प्रशासन कार्यालय मलंगवामा गृह मन्त्रालयले महोत्तरीबाट प्रशासकीय अधिकृत रामेश्वर यादवलाई पठाएपछि प्रशासकीय अधिकृतको दरबन्दी अनुसार तीन जना अधिकृत भएका छन् । कार्यालयमा यसअघि प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापा कार्यरत छन् । उनिहरु कोरोना संक्रमित भइ एक साता आइसोलेसनमा बसेर काममा फर्किएका छन् । प्रशासकीय अधिकृत राजकुमार थापाले दुवै जना नियमित काममा फर्किएपनि प्रशासकीय अधिकृत रामनरेश रामलाई भने पुनः ज्वरो आएपछि फेरि आराममा बसेको र आफू भने नयाँ अधिकृतसँगै नियमित काममै रहेको बताए ।
उनले दुई जना अधिकृत बसेर नागरिकता जारी गर्दा पनि सेवाग्राहीको चाप थेग्न भने हम्मेहम्मे नै परिरहेको बताए । सेवाग्राहीलाई नागरिकता प्रवाहका लागि एक महिना पछिसम्मको टोकन दिएर पठाइएको प्रशासकीय अधिकृत थापाले जानकारी दिए । नागरिकताका लागि एक महिना कुर्नुपर्दा सेवाग्राही भने मारमा परेका छन् । अत्यावश्यक परेका, गर्भवती, अपाङ्ग र ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई तत्कालै नागरिकता दिएर पठाउने गरिएको भएपनि अन्यलाई टोकन दिने गरिएको र टोकनमा उल्लेख गरिएको मितिमा सेवा लिन आउनुस् भनेर पठाउने गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।