logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा ७० प्रतिशतमा कोरोना ! आईतबारबाट ‘बुस्टर डोज’ दिईने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा ७० प्रतिशत भन्दा बढी जनसंख्यामा कोरोना भाईरस संक्रमण दर देखिएको छ ।

सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा शुक्रबार आएको परीक्षण रिपोर्ट अनुसार ७० प्रतिशत भन्दा बढीमा कोरोना भाईरस संक्रमण दर देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय एवं जिल्ला अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशोर झाले पछिल्लो समय कोरोना भाईरस संक्रमणको दर निकै उच्च रहेको जानकारी दिए ।

‘शुक्रबार आएको रिपोर्ट अनुसार ३४ जनाको परीक्षणमा २४ जनामा कोरोना भाईरस देखिएको छ’, डा. झाले उज्यालो अभियानसँग भने, ‘यो रिपोर्ट अनुसार ७० प्रतिशत भन्दा बढी संक्रमण दर देखिएको छ ।’ रुघाखोकी देखिएका अधिकांशमा कोरोना भाईरस पोजेटिभ देखिने गरेको डा. झाको भनाई छ ।

सर्लाहीमा केही दिनअघि कोरोना भाईरस परीक्षण गराउँदा मलंगवा नगरपालिकाका प्रमुख (मेयर) निरसल साह, प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतम, प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक भरत खनिया, राष्ट्रिय अनुसन्धानका एसपी चन्दन झा लगायतमा पनि पोजेटिभ देखिएको थियो । हाल उनीहरु सबैजना रिपोर्ट नेगेटिभ आएसँगै काममा फर्किसकेका छन् ।

यसैबीच सर्लाहीमा भोली आईतबारबाट कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप दिईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय एवं जिल्ला अस्पतालका प्रमुख डा. नवलकिशोर झाले आगामी आईतबारबाट कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप सूरु गरिने जानकारी दिए । ‘आगामी आईतबारबाट जिल्ला स्थित २० वटै पालिकामा कोरोना भाईरस विरुद्धको बुस्टर डोज खोप सूरु गरिने छ’, डा. झाले उज्यालो अभियानसँग भने, ‘पहिलो र दोस्रो डोज खोप लगाएका सबैलाई बुस्टर डोज खोप दिईने छ ।’ दोस्रोे डोज लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा काम गर्ने तथा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर बुस्टर डोज खोप दिईने बताईएको छ ।

सर्लाहीमा हालसम्म १८ वर्ष भन्दा माथिका ६८ प्रतिशत जनसंख्यामा पहिलो डोज तथा ६२ प्रतिशत जनसंख्यालाई दोस्रो डोज खोप दिईसकिएको डा. झाले दाबी गरे । त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशत जनसंख्यामा पहिलो डोज खोप दिईसकिईएको डा. झाको दाबी थियो ।