सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको यार्डमा उखु बोकेका सबारी साधनको लाम । (फाईल तस्बिर : उज्यालो अभियान)
हरिवन– उखुको मुल्य तय नभएपनि सर्लाहीका चिनी उद्योग भने चल्न थालेका छन् । काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्को बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मुल्य नै तय नभएपनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन् ।
यसैक्रममा सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योग संचालनमा आएको छ । विहिबार दिउँसो पौने २ बजेदेखि उद्योग संचालनमा आएको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए । चालू सिजनमा उद्योग संचालनका लागि ईन्दुशंकरले गत मंसिर २७ गते डोंगा पूजा गरिसकेको थियो ।
किसानको उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ भईसकेको छ । टायरगाढाको यार्ड भने खाली नै छ । दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको ईन्दुशंकरले गत वर्ष २२ लाख १६ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो ।
उखुको मुल्य तय भईनसकेपनि किसानकै आग्रहमा उद्योग संचालनमा ल्याईएको प्रशासकीय अधिकृत नेपालले जानकारी दिए । ‘उखु काट्न ढिलाई हुँदा खेतमै सुक्ने डर तथा खुट्टी उखु तत्काल हटाएर अन्य बाली लगाउन पनि ढिला भएकाले किसानहरुकै आग्रहमा उद्योग सञ्चालनमा ल्याईएको हो’, नेपालले उज्यालो अभियानसँग भने, ‘सरकारले तोके अनुसार पछि किसानलाई भुक्तानी गर्नेगरी हाललाई उखु संकलन भईरहेको छ ।’
त्यस्तै जिल्लाकै दक्षिणी क्षेत्र गोडैता नगरपालिकाको बगदह स्थित महालक्ष्मी सुगर मिल पनि संचालनको अन्तिम तयारीमा रहेको बताईएको छ । उक्त उद्योग आजै(शुक्रबार) दिउँसोबाट संचालनमा आउने गोडैता नगरपालिकाका मेयर देवेन्द्र राय यादवले जानकारी दिए । ‘उद्योगका यार्डहरु किसानको उखु बोकेका सबारी साधनले भरिभराउ छन्’, मेयर रायले शुक्रबार बिहान उज्यालो अभियानसँग भने, ‘अहिले पनि म उद्योग परिसरमै छु, सम्भवत आजै दिउँसोबाट उद्योग संचालन गर्नका लागि प्राविधिकहरु लागि परेका छन् ।’ उक्त उद्योगले गत वर्ष ८ लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो । उद्योग सम्बद्ध कसैसँग सम्पर्क हुन सकेको छैन ।
त्यस्तै जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौल स्थित अन्नपूर्ण सुगर मिल भने यसवर्ष पनि संचालनमा नआउने सम्भावना बढेको छ । उद्योगका संचालक राकेशकुमार अग्रवालसँग ज्ञानप्रसाद भट्टराई लगायतको समूहले यसैवर्ष देखि उद्योग संचालन गर्नेगरी चिनिमिल खरिद गरेको भएपनि अहिलेसम्म नामसारी हुन नसकेको लगायत समस्याका कारण उक्त उद्योग यसवर्ष संचालनमा नआउने सम्भावना रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए । किसानको भुक्तानी दिन नसकेपछि उक्त उद्योग दुईवर्षदेखि संचालनमा आएको छैन । गतवर्ष किसानको बाँकी बक्यौता भुक्तानी गरेपनि उद्योगको स्वामित्व नामसारी लगायत प्रकृयामा ढिलाई हुँदा उक्त उद्योग यसवर्ष संचालनमा नआउने सम्भावना बढेको हो ।
उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले उखुको मुल्य तोक्ने काममा सरकार र उद्योगपतिले ढिलासुस्ती गरिरहेको आरोप लगाएका छन् । ‘हाँम्रोतर्फबाट लागतका आधारमा उखुको मुख्य कम्तिमा प्रति क्वीन्टल ६८० रुपैंया हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाईसकेका छौं’, मैनालीले भने, ‘कृषिले उद्योग मन्त्रालयमा मुल्य तोक्ने विषयको फाईल पठाएको र उद्योग मन्त्रालयले पनि मन्त्रिपरिषद्मा पेश गरिसकेको भन्ने सुनेका छौं ।’ उखुको मुल्य तोक्ने विषयमा उद्योगपतिहरुले समेत ढिलासुस्ती गरिरहेको मैनालीले आरोप लगाए ।
गतवर्ष उखुको मुल्य ५३६ रुपैंया ५६ पैसा तोकिएको थियो । जसमा उद्योगपतिले ४७१ रुपैंया २८ पैसा तथा सरकारले ६५ रुपैंया २८ पैसा किसानलाई उपल्रब्ध गराएको हो ।
मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा यसवर्ष २५ हजार हेक्टर हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ । हरेकवर्ष उखुको मुल्य तोक्ने विषयमा रडाँको मच्चिने र मुल्य तोकिसके पछि पनि किसानले समयमै उद्योग र सरकारबाट भुक्तानी नपाउने अवस्थाबाट गुज्रनु पर्दा किसानले पछिल्लो केही वर्षयता उखु खेती छाडेर अन्य खेतीको विकल्प रोज्न थालेका छन् । उद्योगपति र सरकारले दुवैपक्षले वर्षौंसम्म उखुको भुक्तानी उपलब्ध नगराउने प्रवृत्तिले नगदे भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रुपमा परिणत भईरहको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीले गुनासो गरे ।