logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

पालिकाले विवरण नपठाउँदा सर्लाहीमा बालबालिकाले खोप पाएनन्


  • उज्यालो अभियान

जिल्ला स्वास्थ्य कार्यालय मलंगवा ।

लालबन्दी – सरकारले आइतबारबाट १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेपनि सर्लाहीमा भने पालिकाहरुले बालबालिकाको विवरण नै नपठाउँदा अझै खोप अभियान सुरु हुन सकेको छैन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट सर्लाहीसहित ५७ वटा जिल्लामा १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने जनाएको छ तर ५७ वटा जिल्लाको सूचीमा पर्ने सर्लाहीमा भने आइतबारबाट खोप कार्यक्रम सुरु हुन सकेन ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका खोप अधिकृत रामदुलार यादवले पालिकाहरुले आ–आफ्नो पालिकाभित्रका बालबालिकाको सङ्ख्या नपठाउँदा खोप कार्यक्रम सुरु गर्न नसकिएको बताए । जिल्लाका २० वटै पालिकालाई एक साताअघि नै पत्रचार गरिएको र बारम्बार फोन गर्दा समेत विवरण उपलब्ध गराएका छैनन् ।

उहाँका अनुसार बागमती नगरपालिका, कविलासी नगरपालिका, कौडेना गाउँपालिका, रामनगर गाउँपालिका र चक्रघट्टा गाउँपालिकाले मात्रै बालबालिकाको सङ्ख्या उपलब्ध गराएका छन् । बाँकी १५ वटा पालिकाले विवरण सङ्कलन भइरहेको बताएका खोप अधिकृत यादवले बताए ।

पालिकाहरुले बालबालिकाको विवरण नपठाउँदा जिल्लामा कति खोप मगाउने ? भन्ने बारेमा नै अन्यौलता रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले पुस ४ गतेदेखि १४ गतेसम्म बालबालिका लक्षित खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

जिल्लाको हरिपुर नगरपालिका स्वास्थ्य शाखाका संयोजक बिकाउ महतोले बालबालिकाहरुको तथ्याङ्क सङ्कलन भइरहेकाले एक÷दुई दिनमै पठाइने बताए । उनले विवरण पठाएर खोप आउनासाथ विद्यालयमै गएर बालबालिकालाई खोप लगाइने जानकारी दिए ।

यस्तै, जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले गाउँपालिकाभित्रका चारवटा स्वास्थ्य चौकी र तीनवटा आधारभूत स्वास्थ्य केन्द्रमार्फत बालबालिकाको तथ्याङ्क लिने काम भइरहेको बताए । प्रारम्भिक विवरण अनुसार सर्लाहीमा १२ देखि १७ वर्षसम्मका करिव एक लाख छ हजार बालबालिका रहेका र उनीहरु सबैलाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।