बयलवास – कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सहकारीहरुलाई कृषिसँग जोड्नु पर्नेमा जोड दिएका छन् ।
त्यसो गर्न सके किसानहरुको अझ विकास हुने उनको भनाई छ । बुधबार सर्लाही सदरमुकाम मलंगवामा चमेली बचत तथा ऋण सहकारी संस्थाको १८ औँ साधारण सभा तथा २१ औँ वार्षिक उत्सवलाई सम्वोधन गर्दै कृषि मन्त्री यादवले यो कुरा बताएका हुन् ।
सर्लाहीको २ नम्वर क्षेत्रका संघीय सांसद समेत रहेका मन्त्री यादवले आफूले यहाँका सहकारीहरुलाई कृषिसँग जोड्न पहल गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । सहकारीलाई कृषिसँग जोड्न सकेमात्रै गरिबी र बेरोजगारी कम गर्न सकिने उनको भनाई छ ।
चमेलीले आजबाट एकाई भेला गरेर साधारण सभाको प्रारम्भ गरेको हो । केन्द्रीय कार्यालय ईश्वरपुरस्थित बयलवासमा रहेको संस्थाले २ गते बरहथवामा, ३ गते गोडैतामा र ५ गते बयलवासमा इकाई भेला गरेर साधारण सभा सम्पन्न गर्ने संस्थाका अध्यक्ष रामप्रताप साहले जानकारी दिए ।