अक्सिजन प्लान्ट निर्माण सम्वन्धी सम्झौता पत्र आदानप्रदान गरिँदै ।
लालबन्दी – सर्लाहीको लालबन्दीमा एक महिनाभित्र अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।
बागमती सेवा समाज नेपाल–अष्टे«लियन एड र आड्रा नेपालको सहयोगमा लालबन्दी नगरपालिकाको कार्यालयले अक्सिजन प्लान्ट निर्माण गर्न लागेको हो । त्यसका लागि आइतबार सम्झौता समेत भएको छ ।
लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा अक्सिजन प्लान्ट निर्माण गर्न आइतबार दिउँसो बागमती सेवा समाज नेपालका तर्फबाट अध्यक्ष भरत कुमार कार्की र लालबन्दी नगरपालिकाको तर्फबाट मेयर मानबहादुर खड्काबीच हस्ताक्षरभई सम्झौता भएको हो । सम्झौता कार्यक्रममा लालबन्दी नगरपालिकाको विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिना, बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारी, कार्यक्रम प्रमुख सुनिल साह लगायतको उपस्थिति रहेको थियो ।
अक्सिजन प्लान्ट निर्माण भएपछि लालबन्दीमै दैनिक ५ वटासम्म अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने मेयर खड्काले बताए । उनले लालबन्दीका लागि यो गौरव र खुशीको विषय समेत भएको बताएका छन् ।
सर्लाहीमा अहिलेसम्म कतैपनि अक्सिजन प्लान्ट छैन् । कोरोना महामारी उच्च भएको बेला यहाँबाट अक्सिजन सिलिण्डरहरु भर्नका लागि ढल्केबर लगायत अन्यत्र नै लानुपरेको थियो ।