logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखुको मूल्य तय गर्न किसानसँग कृषिमन्त्री यादवको छलफल


  • उज्यालो अभियान

चिनी उद्योगमा लैजानका लागि उखु काट्दै किसान । (फाईल तस्बिर)

लालबन्दी – कृषि मन्त्री महेन्द्र राय यादवले बिहीबार उखुको मूल्य तय गर्ने विषयमा किसानहरुसँग छलफल गरेका छन् ।

कृषि मन्त्रालयमै मन्त्री यादवले आफूहरुसँग छलफल गरेका नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए । छलफलमा आफूहरुले उखुको उत्पादन लागत निकै बढेकाले यस वर्ष उखुको प्रतिक्विन्टल मूल्य ६५० रुपैयाँ कायम गर्न माग गरेको मैनालीले बताए । छलफलमा कृषि मन्त्री, मन्त्रालयका अधिकारीहरु, राष्ट्रिय योजना आयोगका प्रतिनिधि र अगुवा उखु किसान, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईसहित केही नेताहरु समेत सहभागी थिए ।

आफूहरुसँग मन्त्री यादवले तत्कालै उद्योगीहरुसँग पनि छलफलमा बस्ने र त्यसपछि फेरि संयुक्त छलफल गरेर मूल्य तय गर्ने बताएका मैनालीले जानकारी दिए । उखु किसानका प्रतिनिधिहरुले मूल्य कायम नहुँदा किसानमा अन्यौलता रहेकाले जतिसक्दो चाँडो मूल्य तोक्न माग गरेका छन् ।

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल मूल्य ५३६ रुपियाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले ४७१ रुपियाँ २८ पैसा र सरकारले अनुदान स्वरुप ६५ रुपियाँ २८ पैसा भुक्तानी गरेको थियो । सर्लाहीको इन्दुशंकर चिनी उद्योग हरिवन मंसिर २७ गते डोंगा पूजा गर्ने तयारीमा छ । उद्योगले पुस पहिलो साताबाट उखु पेल्न सुरु गर्ने बताएको छ ।

यो वर्ष अन्नपूर्ण चिनी मिल धनकौल पनि संचालनको तयारी छ । गत वर्ष किसानको बक्यौँता तिर्न नसकेर धनकौल चिन मिल चल्न सकेको थिएन् । यस वर्ष अर्कै उद्योगीले उद्योग नै किनेर चलाउन लागेका हुन् ।

यस्तै, गोडैता नगरपालिकामा पर्ने महालक्ष्मी चिनी मिल पनि संचालनको तयारी भइरहेको छ ।