logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

निजामती सेवा दिवसको अवसरमा लालबन्दीमा यसरी गरियो वृक्षारोपण (तस्बीरहरु)


  • उज्यालो अभियान

लालबन्दी – निजामती सेवा दिवस २०७८ को अवसर पारेर मंगलवार यहाँ वृक्षारोपण गरिएको छ ।

राष्ट्रसेवक कर्मचारी वृक्षारोपण राष्ट्रिय अभियान जिल्ला स्तरीय समन्वय समिति सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका–६, स्थित सवडिभिजन कार्यालयदेखि केही उत्तर निर्माणाधीन मनमोहन सामुदायिक अस्पताल नजिकै मधु सामुदायिक वनको हाताभित्र वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण गर्दै लालबन्दीका मेयर मानबहादुर खड्का (तस्बीर : उज्यालो अभियान)

प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा वृक्षारोपण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेयर खड्काले पछिल्लो समय बढ्दो वन विनाशले गर्दा पानीका स्रोतहरु सुक्दै गइरहेको बताए ।

वृक्षारोपण गर्दै कर्णेल अभिषेक कार्की (तस्बीर : उज्यालो अभियान)

उहाँले अब पनि वन जंगलको संरक्षण नगरे आगामी दिन थप चूनौतिपूर्ण र अभाव ग्रस्त हुने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी महतोले यस्ताखाले विभिन्न अभियानका क्रममा रोपिएका विरुवाहरुको संरक्षण गर्न नसने वृक्षारोपणको कुनै अर्थ नहुने बताए ।

प्रजिअ महतोले धेरै ठाउँमा रोपिएका विरुवा उचित संरक्षणको नहुँदा सुकेर जाने र पशु चौपायले खाइदिने गरेकाले, त्यसो हुन नदिन आग्रह गरे । उनले पछिल्लो समय घनघोर जंगल उदाङ्गिँदै गइरहेको भन्दै यसले वातावरण सन्तुलनमै असर परेको भन्दै चिन्ता व्यक्त गरे ।

वृक्षारोपण गर्दै प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर (तस्बीर : उज्यालो अभियान)

वृक्षारोपण कार्यक्रममा डिभिजन वन प्रमुख माधव प्रसाद देव, भैरवी दल गण पाँचकुमारीका गणपति एवं कर्णेल अभिषेक कार्की, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल नं. १० गण कविलासीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान सर्लाहीका प्रमुख दीलिप कुमार सिंह, तेलबाली अनुसन्धान कार्यक्रम नवलपुरका प्रमुख डा. विशेश्वर प्रसाद यादव, डिभिजन खानेपानी कार्यालय मलङ्गवाका प्रमुख जानकीशरण भगत लगायत, डिभिजन वनसहित विभिन्न कार्यालयका कर्मचारी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

वृक्षारोपण गर्दै सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ (तस्बीर : उज्यालो अभियान)

डिभिजन वन प्रमुख माधव प्रसाद देवले तथा डिभिजन वन कार्यालय सर्लाहीको व्यवस्थापनमा भएको वृक्षारोपण कार्यक्रममा मलेसियन सालको तीन सय वटा विरुवा रोपिएको उज्यालो अभियानलाई जानकारी दिए ।

वृक्षारोपण पश्चात सवडिभिजन वन कार्यालय परिसरमा सामूहिक तस्बीर खिचाइँदै (तस्बीर : उज्यालो अभियान)

तस्बीरहरु : (जनार्जन/उज्यालो अभियान)