logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा साउन १५ सम्म थपियो निषेधाज्ञा


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बीर ः उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा साउन १५ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।

बिहिवार दिउँसो सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा भोली (सुक्रवार) देखि साउन १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए । यसअघि थपिएको निषेधाज्ञाको अवधि बिहिवार राती १२ बजेबाट सकिँदै छ ।

पछिल्लो समय निषेधाज्ञा थपिएपनि खुकुलो पार्दै लगिएको छ । निषेधाज्ञामै सबैजसो क्षेत्र निर्वाध रुपमा संचालनमा आउन थालिसकेका छन् । विद्यालय खोल्न, सभा सम्मेलन गर्न, जुलुस निकाल्न भने अझै बन्देज नै छ ।

लामो दूरीका बसहरुको हकमा यहाँबाट मात्रै निर्णय गरेर नहुने भएकाले काठमाण्डौं उपत्यकामा हुने निर्णय अनुसार आफूहरुले यताबाट समन्वय गर्न सक्ने प्रमुख जिल्ला अधिकारी महतोले बताए । उनले जिल्लाभित्र चल्ने सवारी साधन र पसल व्यवसायलाई भने निर्वाध ढंगले संचालन गर्ने दिने निर्णय भएको जानकारी दिए ।

पछिल्ला दिनमा सर्लाहीवासीले स्वास्थ्य मापदण्डको पालना गर्न छाडिसकेका छन् । कोरोना परीक्षण पनि एकदम कम हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयको पछिल्लो रेकर्ड अनुसार सर्लाहीमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमित ३४ जना मात्रै छन् ।