हरिवन – नेकपा एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले सर्लाहीमा पार्टीको अर्को कमिटी बन्यो भनेर गुटको नाममा भ्रामक प्रचार गरिएको बताएका छन् ।
पन्तले सुक्रवार बिहान प्रेस विज्ञप्ती प्रकासित गरी केही सामाजिक संजालहरुमा सर्लाहीमा नेकपा एमालेको अध्यक्ष र सचिव मनोनित भएको भन्ने भ्रामक, झुट र अवैधानिक प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । एमालेको ओली समूहकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साहले पार्टीको सर्लाही जिल्ला अध्यक्षमा मलंगवा निवासी राजनारायण साह र सचिवमा जानकीनगर निवासी केदार खत्रीलाई मनोनित गरेको पत्र बिहिवार मात्रै सार्वजनिक भएको थियो ।
त्यसप्रति जिल्ला अध्यक्ष पन्तले विज्ञप्ती निकालेर आपत्ति जनाएका हुन् । जिल्ला अध्यक्ष पन्तले निकालेको प्रेस विज्ञप्तीमा २०७२ सालमा सातौं जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमालेको जिल्ला कमिटी अहिले क्रियाशील रहेको र सो कमिटीको अध्यक्ष आफू, बेची लुंगेली सचिव र जमिरुदिन मन्सुर सहसचिव रहेको उल्लेख गरिएको छ ।
उपाध्यक्ष ध्रुव गौतमको दुःखद देहावसान भएपछि देवेन्द्र यादवलाई केही महिनाअघि मूर्तियामा सम्पन्न जिल्ला कमिटीको १९ औँ बैठकबाट उपाध्यक्षमा मनोनित गरिएको अध्यक्ष पन्तले बताएका छन् । केन्द्रमा पार्टीलाई एक बनाएर लाने प्रयास भइरहेको र जिल्लामा संयमित भई सबैलाई एकतावद्ध बनाउन काम गरिरहेको बेला यस्तो गुटगत र फुटपरस्त कार्य हुनु दुःखद रहेको विज्ञप्तीमा भनिएको छ ।
अध्यक्ष पन्तले कुनै पनि भ्रममा नपरी पार्टीको आधिकारिक जिल्ला कमिटी अन्तर्गत रहन तथा अवैध प्रकारका कमिटीले गर्ने कुनै पनि प्रचार, कार्यक्रम वा निर्देशनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन् ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएको जिल्ला कमिटीले पनि सुक्रवार दिउँसो नै प्रेस विज्ञप्ती निकालेर आधिकारिक संस्थागत कमिटी आफूहरु रहेको उल्लेख गरेको छ । सो कमिटीका अध्यक्ष राज नारायण साह र केदार खत्रीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा समानान्तर कमिटी गठन गर्दै हिँड्ने रेवती पन्त जिल्ला अध्यक्ष हुन नसक्ने उल्लेख छ ।
यसैबीच, नेपाल-खनाल समुहले पुनर्गठन गरेकाे युवा संघ नेपालका केन्द्रीय सदस्य पवन खरेलले सर्लाहीमा अधिबेशनबाट निर्बाचित नेकपा एमाले पार्टीको अध्यक्ष रेवती पन्त र सचिब बेची लुङ्गेली नेतृत्वको कमिटी नै आधिकारिक भएकाे बताएका छन् । सर्लाहीमा अधिवेशनबाट निर्वाचित रेवति पन्त नेतृत्वकाे कमिटी आधिकारिक नहुने हाे भने केन्द्रीय अध्यक्ष केपि ओलीको कमिटी पनि अबैध हुने खरेलकाे भनाई छ ।
यसरी दुवै समूहले बेग्लाबेग्लै विज्ञप्ती निकालेर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्दा नेताहरुबीचको तिक्तता झन् बढ्दै गएको छ ।