स्वर्गिय बर्मा ।
रामनगर – सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको शव गएराती गाउँ ल्याइ पु¥याइएको छ ।
राती १२ बजेतिर उनको शव गाउँ आइपुगेको रामनगर गाउँपालिका–१, का वडाध्यक्ष दिनेश मिश्रले जानकारी दिए । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बर्माको ६८ वर्षको उमेरमा उपचारका क्रममा शनिवार राती काठमाण्डौंको मेडिसेटी अस्पतालमा निधन भएको थियो ।
सरल स्वभावका बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप, डाइबेटिज जस्ता रोगबाट ग्रसित थिए । बर्माको शव आज मध्यान्ह गाउँमै अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।
उनका आफन्त र गाउँलेहरु अहिले जम्मा हुनेक्रम चलिरहेको वडाध्यक्ष मिश्रले उज्यालो अभियानसँग बताए ।
अन्त्येष्टिअघि बर्माको शव श्रद्धान्जलीका लागि केही समय गाउँपालिका कार्यालयमा समेत राखिने वडाध्यक्ष मिश्रले जानकारी दिए । मिश्रका अनुसार अध्यक्ष बर्माकी श्रीमती सुधा पनि अहिले बिरामी छिन् ।
सुधाको मेडिसिटी अस्पतालमै उपचार चलिरहेको भएपनि उनलाई श्रीमानको शवसँगै राती गाउँमै ल्याइएको छ । सुधाले छोराको किड्नी फेल भएपछि एउटा किड्नी दिएकी छिन् ।
बर्मा दम्पत्तिको सन्तानको रुपमा एउटा मात्रै छोरा हुनुहुन्छ । गाउँपालिका अध्यक्ष बर्माको निधनपछि अहिले रामनगर गाउँपालिकावासी स्तब्ध भएका छन् ।
दिवंगत बर्मालाई कांग्रेसका नेताहरुले हिजो काठमाण्डौंमै शव रहेका बेला श्रद्धान्जली व्यक्त गरिसकेका छन् । आफूहरु क्रियाशील सदस्यता वितरणको विवाद समाधानका लागि काठमाण्डौंमा नै रहेकाले त्यहीँ शव हुँदा श्रद्धान्जली व्यक्त गरेको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले बताए ।