सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीमा लोकल बस चल्न दिने र सरकारी कार्यालयहरुले पालिका अनुसार पालैपालो सेवा दिने निणर्य गर्दै फेरि एक हप्ता निषेधाज्ञा थप गरिएको छ ।
आज (मंगलवार) सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले निषेधाज्ञा असार २१ गतेसम्म जारी राख्ने तर जिल्लाभित्र चल्ने लोकल बसहरु चलाउन अनुमति दिने र कार्यालयले पालिका अनुसार पालैपालो सेवा दिने निणर्य गरेको हो ।
यो निणर्य भोली (मंगलवार) देखि नै कार्यान्वयनमा ल्याइने जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।
चौधरीका अनुसार मालपोत, नापीसहित सबै कार्यालयले भोली (मंगलवार) देखि नै पालिका अनुसार तालिका बनाएर सेवा दिन थाल्नेछन् । आज (सोमवार)को बैठकले पसल व्यवसाय साँझ ५ बजेसम्म खोल्न दिने निणर्य गरेको जिल्ला समन्वय समितिका सभापति चौधरीले उज्यालोकर्मी खत्रीसँग भने ।
यसअघि बजारका पसल व्यवसाय दिउँसो २ बजेसम्म खोल्न दिइएको थियो । निषेधाज्ञा लागू भएपछि जिल्लामा गएको बैशाख २५ गतेबाट सरकारी कार्यालयहरु र बजार बन्द गरिएका थिए ।
असार १ गतेबाट भने निषेधाज्ञा खुकुलो पारिँदै लगिएको छ । आज (सोमवार) को बैठकमा लामो दूरीका बसहरु पनि चल्न दिनुपर्ने आवाज उठेको थियो । तर अर्को जिल्लासम्म चल्ने लामो दूरीका गाडीहरुको संचालनको हकमा माथिबाटै निणर्य हुनुपर्ने भएकाले आज (सोमवार) को बैठकमा कुनै निणर्य नभएको नवलपुर निवासी बस व्यवसायी दीपक श्रेष्ठले पत्रकार खत्रीसँग बताएका छन् ।
सर्लाहीमा अहिले बसहरु बाहेक मयुरी, म्याजिक, मोटरसाइकलजस्ता साना खाले सवारी साधन निर्वाध संचालन भइरहेका छन् । औपचारिकताका लागि निषेधाज्ञा थपिएपनि जिल्लाको सडक, हाटबजारमा मानिसको अत्यन्त भीडभाड भइरहेको छ ।
धेरैले बाहिर हिँड्दा मास्क लगाउन छाडेका छन् भने स्वास्थ्य मापदण्डको पनि पालना हुन छाडेको छ । यता, जिल्लामा आज (सोमवार) दुई जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा कोरोना संक्रमणबाट गएको २४ घण्टामा कसैको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।