ईश्वरपुरमा थ्रोट स्वाब लिइँदै । तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान
मलंगवा – सर्लाहीमा फेरि दुई दिनदेखि कोरोना भाइरसका सङ्क्रमित बढेका छन् ।
जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जिल्लामा दुई दिनको अवधिमा ७० जना सङ्क्रमित थपिएका छन् । जिल्लामा शनिवार २४ जना र सुक्रवार ४६ नयाँ सङ्क्रमित थपिएका हुन् ।
दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमणबाट अहिलेसम्म दुई हजार ४२१ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये एक हजार ३३० जना निको भएका छन् भने ८२ जनाको मृत्यु भएको छ ।
गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट जिल्लामा कसैको पनि मृत्यु नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला अस्पताल मलङ्गवामा पीसीआर र प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा एन्टिजेन विधिबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको छ ।
चिकित्सकहरुले परीक्षण गरिएकामध्ये अझै पनि केही व्यक्तिहरुमा कोरोना भाइरसको सङ्क्रमण देखा परिरहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् । सङ्क्रमणको जोखिम टरिनसकेको भन्दै सर्लाहीमा असार १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ तर पछिल्लो पटकको निषेधाज्ञा प्रभावहीन बन्दै गएको छ ।
बजार, पसल खोल्न दिन थालिएसँगै सडक, बजारमा मानिसको चहलपहल निकै बाक्लिन थालेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर चार हजार नौ सय १४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यो सङ्ख्या पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितको सङ्ख्याको दोब्बरभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ११ सय ७४ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ सय ४२ जना गरी दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३२ हजार तीन सय २६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३१ हजार पाँच सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
अहिलेसम्म पाँच लाख ८१ हजार तीन सय २७ जना निको भइसकेका छन् । निको हुने दर झण्डै ९२ प्रतिशत पुगेको छ ।
यस्तै थप ३० जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या आठ हजार नौ सय ७५ जना पुगेको छ । अहिले नेपालमा ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् ।