मलंगवा – सर्लाहीमा जारी निषेधाज्ञा खुकुलो पार्दै थप एक साता लम्ब्याइएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवाले असार १४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सोमबार साँझ सम्पन्न जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले कोरोना संक्रमण नियन्त्रणमा नआइसकेकाले निषेधाज्ञा थप गर्न स्थानीय प्रशासनलाई सिफारिस गरेको थियो । निषेधाज्ञा थपिए पनि पहिले भन्दा केही खुकुलो पार्दै लैजाने निर्णय भएको छ । बैठकले विद्यालय, होटल, जिम, सैलुन र सिनेमा हल बाहेक बजारका अन्य पसल व्यवसाय दिउँसो २ बजेसम्म खोल्न दिने निर्णय गरेको बैठकमा सहभागी सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले जानकारी दिए ।
जिल्लामा यसअघि नै मध्यान्ह १२ बजेसम्म बजारहरु खुल्ने गरेका थिए । बैठकमा मालपोत, नापीलगायतका कार्यालय खोल्नुपर्ने आवाज उठेपनि पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा कार्यालयहरु नखोल्न माथिबाटै निर्देशन आएकाले सर्लाहीमा आठ सय बढी सक्रिय संक्रमित रहेकाले तत्कालका लागि कार्यालयहरु नखोलिने भएको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सर्लाहीमा गत बैशाख २५ गतेबाट निशेधाज्ञा लगाउन सुरु गरिएको थियो । पटक–पटक थपेर यो सहित सातौं पटक निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञा थपिँदै लगेपनि यहाँका सडक, बजारमा मानिस सामान्य अवस्थामा झैँ ओहोरदोहोर गर्न थालिसकेका छन् । लालबन्दी, हरिवन, बरहथवा, बयलवास, मलंगवाजस्ता मुख्य बजारमा मध्यान्ह १२ बजेसम्म सबै पसल व्यवसाय खुल्ने गरेका थिए । पूर्व–पश्चिम राजमार्गसहित अन्य भित्री सडकमा मोटरसाइकल, टेम्पु, म्याजिकजस्ता सानाखाले सवारी निर्वाध गुडिरहेका छन् । टाटा सुमो, रात्री बसहरुले समेत संघीय राजधानी काठमाडांैंसम्म यात्रुहरु ओसारपसार गर्न थालिसकेका छन् । वीरगन्ज, जनकपुर लगायतका मुख्य सहरहरुमा दिवा बसहरु चलिसकेका छैनन् ।
दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट सर्लाहीमा सोमबारसम्म दुई हजार ३५० जना संक्रमित भएका छन् । तीमध्ये एक हजार ३०८ जना निको भइसकेका छन् भने ८० जनाको मृत्यु भएको छ । जिल्लाभर अहिले ८८२ जना सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनायो ।