logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवा अस्पतालको बेथिती : प्रदेश सरकारले दिएको नयाँ एम्बुलेन्स र शवबाहन थन्कियो, निजीलाई मालामाल !


  • उज्यालो अभियान

टंकबहादुर क्षेत्री/मलंगवा – सर्लाही सदरमुकाम मलंगवा स्थित सरकारी जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स र शवबाहन थन्किँदा बिरामी तथा आफन्त सहित आम सर्वसाधारण मारमा परेका छन् ।

प्रदेश दुई सरकारले उपलब्ध गराएको बजेट अनुसार खरिद भएको सर्लाही सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको एम्बुलेन्स र शववाहन तीन महिनादेखि अस्पताल परिसरमै खडा रहेको छ । २०७७ असारमै टेण्डर आव्हान गरेर एम्बुलेन्स र शववाहन खरिद प्रकृया अगाडी बढाईएपनि विविध कानूनी झञ्झटका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शवबाहन अस्पताल परिसरमा आईपुगेको थियो । अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स थियो ।

तर स्वास्थ्यका कारण मानवजिवनमा आईपर्ने आपतकालिन अवस्थामा उद्धार गर्नुपर्ने तीनवटै सवारी साधन नचल्दा बिरामीहरुले समयमै थप उपचार सेवा नपाउने मात्र हैन बाहिरबाट बोलाएर निजी क्षेत्रको एम्बुलेन्स र शवबाहन प्रयोग गर्नुपर्दा निकै आर्थिक भारबहन गर्नु परिरहेको जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले जानकारी दिए । अस्पतालमा करारमा नियुक्ति पाएका ३ जना चालक पनि छन् । एउटा कार्यालयको जीप अनि दुईवटा एम्बुलेन्स र एउटा शवबाहन गरी अस्पतालमा ४ वटा साना सवारी साधन छ । तर कार्यालयको पीकअप भ्यान बाहेक दुईवटा एम्बुलेन्स र एउटा शवबाहन भने महिनौदेखि नचलेको ती कर्मचारीले बताए ।

एउटा एम्बुलेन्स मात्र भएको मलंगवा अस्पताललाई प्रदेश दुई सरकारले थप एउटा एम्बुलेन्स र एउटा शवबाहन किन्नका लागि २० लाख ७० हजार रुपैंया बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट टेण्टर प्रकृया अनुसार तीन महिनाअघि नै एक एम्बुलेन्स र एक शवबाहन अस्पताल परिसरमा आईपुगेको थियो । पूरानै एउटा एम्बुलेन्स रहेको अस्पतालमा थप एउटा नयाँ एम्बुलेन्स र एउटा शवबाहन आएपछि व्यवस्थापन पक्षले सेवाप्रवाहको सवालमा निकै हर्ष महसुस गरेको थियो । विडम्बना, नयाँ एम्बुलेन्स र शवबाहन आएपछि त पूरानो सहित तीनवटै उद्धारका सवारी साधन चलेको छैन ।

अस्पताल स्रोतका अनुसार करारमा नियुक्ति पाएका चालकहरुको आफ्नै निजी लगानीमा एम्बुलेन्स रहेको छ । जसले गर्दा अस्पतालको एम्बुलेन्स र शवबाहन थन्काएर आफ्नो एम्बुलेन्सको व्यापार बढाउनमै उनीहरु केन्द्रित रहेको अस्पताल स्रोतले जनायो । ‘अस्पतालको दुईवटा एम्बुलेन्स र एउटा शवबाहन त्यसै थन्काएर राखिएको छ’, अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘एम्बुलेन्स र शवबाहनका लागि नियुक्त भएका ड्राईभरहरु आरामले तलब भत्ता खाईरहेका मात्र छैनन्, उनीहरुले आफ्नै लगानीमा प्रमाण नदेखिने गरी निजी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् र अस्पतालमा आउने हरेक बिरामीलाई उनीहरुकै ईसारामा निजी एम्बुलेन्समा महंगो भाडा लिएर ओसारपसार गर्न बाध्य बनाईएको छ ।’

विहिबार दिउँसो मलंगवा अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउत, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, भर्खरै सरुवा भएर आएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. नवलकिशोर झा लगायतको अनौपचारिक बैठक समेत बसेको अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए । एम्बुलेन्स र शवबाहन सञ्चालन हुन नसक्नु तथा अस्पतालमा भएका अन्य विकृति र विसंगती विरुद्ध अनौपचारिक छलफल भएको जिसस प्रमुख मेथुर चौधरीले उज्यालो अभियानलाई बताए ।

मलंगवा अस्पताल प्रमुखको रुपमा भर्खरै सरुवा भएर आएका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नवलकिशोर झाले अस्पतालको सेवा सुविधा प्रवाह सुधारमा आफू लागि परेको जानकारी दिए । ‘म भर्खरै आएको छु, अस्पतालको अवस्था बारेमा अध्ययन गर्दैछु’, डा. झाले उज्यालो अभियानकर्मी यो पंक्तिकारलाई भने, ‘अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायत सबै सरोकारवाला, पक्ष, तह र तप्काको सहयोगमा सुधारका लागि प्रयास गर्नेछु ।’

अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउतले अस्पतालमा रहेको विकृत्ति विसंगति हटाउँदै आम सर्वसाधारणको स्वास्थोपचारमा सकेसम्म सेवा सुविधा प्रदान गराउने दिशामा आफू लागि परेको दाबी गरे । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले अस्पतालको एम्बुलेन्स र शवबाहन थन्किएको भन्ने खबर भर्खरै थाहा पाएको बताए । ‘ए हो र, मैले त तपाईंले फोन गरेपछि मात्र पो थाहा पाएँ, अब यसबारेमा म तत्काल कार्बाही प्रकृया अगाडी बढाउँछु’, प्रजिअ तामाङले विहिबार साँझ यो पंक्तिकारसँग भने, ‘स्वास्थ्य जस्तो संवेदनशिल विषयमा पनि यस्तो खेलबाड हुनु विडम्बना हो, म बुझेर भोली नै आवश्यक कदम चालिहाल्छु ।’

कोरोना महामारीको अवस्थामा जिल्लाकै एकमात्र सुविधासम्पन्न मानिएको मलंगवा अस्पतालमा कोरोना भाईरस संक्रमण सहित अन्य बिरामीहरुको निकै चाप रहने गरेको थियो । जिल्लाका ग्रामिण भेकबाट उपचारका लागि आएका तथा उपचार गर्दागर्दै गम्भिर देखिएका बिरामीले तत्काल थप उपचारका लागि बाहिर जानु पर्दा अस्पतालकै एम्बुलेन्स भएपनि निजी एम्बुलेन्सबाट निकै महंगो भाडा तिरेर गईरहेको अस्पतालका एक स्वास्थ्यकर्मीले जानकारी दिए ।