logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

केही खुकुलो सहित सर्लाहीमा पुनः सात दिने निषेधाज्ञा जारी


  • उज्यालो अभियान

मलंगवा – केही खुकुलो व्यवस्था सहित सर्लाहीमा पुनः एक साता निषेधाज्ञा लम्ब्याइएको छ ।

आज(सोमबार) दिउँसो सदरमुकाम मलंगवामा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले गरेको सिफारिस अनुसार सर्लाहीमा असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । डीसीसीएमसीको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले निषेधाज्ञा जारी गरेका हुन् । जिल्लामा कोरोना संक्रमण जोखिमको अवस्था समिक्षा गर्दा संक्रमण र मृत्युदर पूर्ण नियन्त्रणमा नआइसकेको हुँदा निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रजिअ तामाङले बताए ।

सर्लाहीमा कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालमा यो सहित छैठौँ पटक निषेधाज्ञा जारी भएको छ । सर्लाहीमा गएको बैशाख २५ गतेबाट निषेधाज्ञा लगाउन सुरु गरिएको थियो । पाँचौं पटक थपिएको निषेधाज्ञाको अवधि आज(सोमबार) राती १२ बजेबाट सकिँदै छ । निषेधाज्ञा थपिँदै लगिएपनि पछिल्ला दिनहरुमा खुकुलो पार्न थालिएको छ ।

सोमबार जारी गरिएको निषेधाज्ञा अनुसार स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, बैंक तथा वितिय संस्था, पेट्रोल पम्प, स्वास्थ्य संस्था, क्लिनिक, अस्पताल र औषधिजन्य पसललाई २४ सै घण्टा खुल्ने सेवा एवं व्यवसायको रुपमा तोकिएको छ । त्यस्तै सिमित रुपले खुला हुने सेवा एवं व्यवसायको रुपमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, दुध डेरी, ग्याँस पसल, हार्डवेयर, ईलेक्ट्रोनिक्स, फर्निचर, जस्ता निर्माण सामग्री सम्बन्धी पसल÷व्यवसाय, विउ विजन लगायत कृषि सामग्री सम्बन्धी पसल÷व्यवसाय, किराना पसल, डिपार्टमेन्टल स्टोर, ग्रोसरी र पुस्तक तथा पत्रिका पसल सञ्चालन गर्न दिने प्रजिअ तामाङद्वारा जारी निषेधाज्ञामा उल्लेख छ ।

यसअघिको निषेधाज्ञामा पनि अत्यावश्यक वस्तु बिक्री हुने पसल व्यवसाय मात्रै बिहान १० बजेसम्म खोल्ने भन्ने निर्णय भएपनि बजारका सबैजसो पसल व्यवसाय खुल्न थालेका छन् । भाडाका गाडीहरु संचालन भइसकेका छैनन् । मोटरसाइकल, टेम्पुलगायतका सवारी भने निर्वाध गुडिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा दोस्रो चरणको कोरोना संक्रमणबाट आज(सोमबार) दिउँसोसम्ममा दुई हजार १११ जना संक्रमित भएका छन् । तीमध्ये एक हजार ५६ जना संक्रमित निको भइसकेका छन् । ७९ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले ८९७ जना सक्रिय संक्रमित रहेका छन् । गएको २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ भने ६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए । प्रजिअ तामाङका अनुसार निषेधाज्ञा उल्लंघन गर्नेलाई केही समयअघि सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्बाही गरिने छ ।

आज(सोमबार) दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा जिसस प्रमुख मेथुर चौधरी र मलंगवा नगरपालिकाका मेयर निरसल साहको विशेष उपस्थिती तथा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, नेपाली सेना भैरवी दल पाँचकुमारीका गणपति प्रमुख सेनानी सरोज राना, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप सिंह, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख एवं मलंगवा अस्पतालका मेसु नवलकिशोर झा, मलंगवा अस्पताल पीसीआर ईन्चार्ज सुशील यादव, चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष संजय कुमार गुप्ता, उद्योग वाणिज्य संघ मलंगवाका उपाध्यक्ष अरुण कुँवर, नागरिक समाजका अगुवा उग्रकान्त झा, बागमती सेवा समाजका गजेन्द्र साह लगायतको उपस्थितीमा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेको थियो ।