पत्रकार सम्मलेनमा उपस्थित कांग्रेस नेताहरु । (तस्बिर : उज्यालो अभियान)
हरिपुर – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्य वितरण तथा नवीकरणमा पार्टी जिल्ला सभापतिले मनोमानी गरेको आरोप लागेको छ ।
हरिपुरमा शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै पूर्व जिल्ला सभापति लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, पूर्व जिल्ला उपसभापति विनोद खनाल लगायत नेताहरुले जिल्ला सभापति नागेन्द्र कुमार रायले मनोमानी एवं स्वेच्छाचारी ढंगले क्रियाशील सदस्यता वितरण गरेको आरोप लगाएका छन् । जिल्ला सभापति रायले क्षेत्रीय सभापति मार्फत प्रदेश, पालिका हुँदै वडा सभापतिसम्म नयाँ सदस्यको फारम वितरण हुनुपर्नेमा आफू अनुकुल बाहेकका क्षेत्रीय सभापतिलाई बाईपास गरेर सिधै वडा सभापतिसम्म फारम वितरण गरिएको उनीहरुको आरोप थियो । पार्टीमा क्रियाशिल पूराना नेता कार्यकर्तालाई भन्दापनि गैर पार्टीकालाई क्रियाशिल सदस्य वितरण गरेर सदियौंदेखि क्रियाशिल निष्ठावान नेता कार्यकर्तालाई सिध्याउने गरी जिल्ला सभापतिले पार्टी कब्जा गर्ने रणनीति साथ अगाडी बढेको उनीहरुले आरोप लगाए ।
फोरम लोकतान्त्रिक पार्टीबाट सिफारिस गरेको बाहेक अन्य सबैको नयाँ सदस्यता दिनुपर्नेमा व्यक्तिगत रुपमा पार्टी प्रवेश गरेकाहरुको सिफारिसमा समेत सयौंको नविकरण नै गराईएको उनीहरुको दाबी छ । पालिकाहरुमा समायोजन हुने क्रममा हरिपूर्वा र बलरा नगरपालिका तथा कबिलासी नगरपालिका–४ नम्बर वडा सभापति एवं कौडेना गाउँपालिकाको नेतृत्वमा विवाद देखिएपछि केन्द्रीय निर्वाचन समितिले सर्बसम्मतले निर्णय गरेर पठाएको नेतृत्वलाई समेत जिल्ला सभापतिले नमानेको नेताहरुले आरोप लगाए । केन्द्रीय समितिले गरेको निर्णय अनुसार बलरा नगरपालिका र कबिलासी नगरपालिका–४ लाई मान्यता दिएर काम गराईएको तर हरिपूर्वा र कौडेना पालिकाको नेतृत्वलाई भने पूरै वाईपास गरेर जिल्ला सभापति रायले दोहोरो नीति अख्तियार गरेको आरोप लगाईएको छ ।
जिल्ला सभापति रायले कतिपय वार्डको नविकरण नै नगरेको तथा आफूहरुले नबिकरण गरेर बैंक भौचर दिँदा समेत नबुझेको उनीहरुको गुनासो थियो । विधि र विधानलाई पूरै कुल्चिएर जिल्ला सभापति रायले तानाशाही प्रवृति देखाएको नेताहरुको आरोप थियो । क्रियाशील सदस्यता दिँदा वडा कमिटीबाट विभिन्न समिति हुँदै माथिल्लो निकायमा पुग्नु पर्ने भएपनि त्यसो हुन नसकेको नेताहरुको गुनासो छ ।
व्यक्तिगत रुपमा पार्टी प्रवेश गरेका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, नेता कृष्णदेव राय लगायतलाई समेत समायोजनको नाममा सयौं फर्महरु वितरण गरिएको तर वर्षौंदेखि पार्टीमै क्रियाशिल रहेका नेता कार्यकर्तालाई भने पूरै वाईपास गरिएको नेताहरुको गुनासो छ । पत्रकार सम्मेलनमा जिल्ला सचिब नविन अधिकारी, २ नम्बर क्षेत्रीय सभापति दिनेश मिश्र, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, संविधान सभासद् रामचन्द्र चौधरी, जुनैद अन्सारी, काैशल किशाेर राय लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
यता जिल्ला सभापति रायले भने निवर्तमान जिल्ला सभापति लक्ष्मण रायले आफू महाधिवेशन प्रतिनिधिमा हार्ने डरले लफडा निम्ताउने गरी विभिन्न किसिमको जालझेल तथा प्रपञ्च रचेको बताउँछन् । जिल्ला सभापति रायले २ नम्बर क्षेत्रीय सभापति दिनेश मिश्रले सदस्यताका लागि पठाईएको फर्म आम सदस्यलाई भराउनुको साटो लक्ष्मण रायको घरमा राखेको दाबी गरे । क्षेत्रीय सभापति मिश्रले सदस्यताको फर्म वितरण नगर्दा पुनः अर्को फर्म पठाईए पनि अनलाइन नै नगरेको उनको आरोप छ ।
सभापति रायले उक्त गुटबाट विभिन्न किसिमको जालझेल हुनथालेपछि आफुले पनि उनीहरुको बर्चस्व रहेको स्थानको नविकरण र नयाँ सदस्यता रोकेको स्विकार गरे । विवाद समाधानका लागि पटक पटक पहल गरेपनि उनीहरु नमान्ने र विभिन्न किसिमको प्रपञ्च रच्ने काम गर्दै आएको जिल्ला सभापति राय बताउँछन् । आफ्नो गाउँपालिका कौडेना लगायत आठ स्थानमा सदस्यता र नविकरणका लागि फर्म वितरण गर्न नमानेको र उनीहरुले त्यसो गरेपछि आफूले पनि एकदुई ठाउँमा रोकिदिएको सभापति रायले बताए । केन्द्रिय नेताहरु समेत राखेर छलफल गरेपनि उनीहरु कुनैपनि हालतमा नमान्ने भन्दै हिँड्ने गरेको सभापति रायको दाबी छ ।
जिल्ला सभापति राय केन्द्रीय सभापति शेरबहादुर देउवा निकट हुन् भने पूर्व जिल्ला सभापति लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, सचिब नविन अधिकारी, पूर्व उपसभापति विनोद खनाल, संविधान सभासद् रामचन्द्र चौधरी लगायतका नेताहरु वरिष्ठ नेता रामचन्द्र पौडेल एवं महामन्त्री शशांक कोइराला निकट हुन् ।