फाइल तस्बिर ।
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, मा वडा कार्यालयले किसानलाई निःशुल्क रुपमा फौजी किरा मार्ने औषधि वितरण गरिरहेको छ ।
वडाको एक लाख रुपैयाँ बजेटबाट औषधि किनेर हिजो (आइतवार) बाट किसानलाई बाँड्न थालिएको वडाध्यक्ष सीताराम पोखरेलले बताए । फौजी किराले मकै बाली खाएर सखाप पारेपछि वडा कार्यालयबाट औषधि वितरण गर्न थालिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।
किसानलाई टोल अनुसार पालैपालो वडा कार्यालयमै बोलाई औषधि वितरण गरिएको हरिवन–९ को वडा कार्यालयले जनाएको छ । किसानलाई कृषि प्राविधिकको सल्लाहमा औषधि प्रयोग गर्ने विधी समेत सिकाएर पठाउने गरिएको वडाध्यक्ष पोखरेलले बताए ।
फौजी किराले मकै नष्ट गरिरहेको समयमा वडा कार्यालयले यसरी निःशुल्क औषधि दिएपछि किसानहरु खुसी भएका छन् ।
सर्लाहीमा अहिले जताततै मकै बालीमा व्यापक रुपमा फौजी किराले नोक्सान गरिरहेको छ । गोडमेल र बारम्बार औषधि छिट्दा समेत किराले मकैको पात र गुबा काट्न नछाडेको किसानले बताएका छन् ।
सर्लाहीका किसानले लगाएको मकै, धान, कोदोलगायतका प्रत्येक बालीमा विगत दुई वर्षदेखि फौजी किराले क्षति गर्दै आइरहेको छ ।