कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह ।
मलंगवा – नेपाली कांग्रेस सर्लाहीका उपसभापति सुरेन्द्रप्रसाद सिंहले मुलुकको सर्बाेच्च जनप्रतिनिधि मुलक संस्था संसद् विघटन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी, निरंकुश र प्रतिगामी कदम चालेको आरोप लगाएका छन् ।


आईतबार एक प्रेस वक्तव्य प्रकाशित गर्दै उपसभापति सिंहले संपूर्ण लोकतान्त्रिक प्रकृयालाई वेवास्ता गरि गैर संवैधानिक रुपमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले लोकतान्त्रिक हकको उपभोगबाट गठित प्रतिनिधिसभा विघटन गर्नु पूर्ण रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्य रहेको आरोप लगाएका हुन् । संविधानको धारा ७६ (५) अनुसार संसद् सदस्यहरुलाई वैकल्पिक सरकारको खोजी गर्न नदिई कुनैपनि वैकल्पिक संभावना नअपनाई संविधानको उल्लंघन गरि राष्ट्रपति र प्रधानमन्त्रीले संसद् विघटन गरेको उल्लेख गरेका छन् ।
मुलुक कोरोना महामारीको चपेटामा परेका बेला देश र जनताको हितमा कुनै प्रकारबाट विचार नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संसद् विघटन गरेर मुलुक र जनताको जीवनसँग खेलबाड गरेको वक्तव्यमा आरोप लगाईएको छ । महामारीको घडीमा एकवद्ध रुपमा अगाडी बढ्नु पर्नेमा संसद् विघटन गरेर जनताको जीवनलाई झन संकटमा धकेलेको उपसभापति सिंहले बताएका छन् ।
यस भयावह परिस्थितीको सामना गर्न र असंवैधानिक कार्यको विरोधमा एकजुट हुन उपसभापति सिंहले सबै देशबासी, जिल्लाबासी, गाउँ र नगरबासीमा अनुरोध समेत गरेका छन् ।