लालबन्दी – नेकपा एमाले सर्लाहीका नेताहरु कोरोना भाईरस संक्रमणबारे सचेतना जगाउँदै सडकमा निस्किएका छन् ।
‘कोभिड–१९ बाट बच्ने धेरै उपायहरु छन्, सावधानी अपनाउन कुनै अवस्थामा पनि नचुकौ’ भन्ने नारासहित नेकपा एमालेको नेपाल–खनाल समूहका नेताहरु सडकमा निस्किएका हुन् । पार्टी निकट युवा संघ नेपाल, अनेमसंघ र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज (बिहिवार) लालबन्दी बजारबाट कोभिड–१९ विरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।
अभियान अन्तर्गत एमाले नेताहरुले बिहान करिव एक घण्टा लालबन्दीको मुख्य राजमार्ग क्षेत्रमा मास्क नलगाई हिँड्नेहरुलाई मास्क वितरण र सेनिटाइजरको प्रयोगसहित चेतना अभिवृद्धि गराउने काम गरेका छन् । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष पन्त, पार्टीकै जिल्ला सचिव एवं प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्कालगायत अन्य नेताहरु सहभागी भए ।
यो किसिमको सचेतनामूलक अभियान जिल्लाका मुख्य–मुख्य बजार क्षेत्रमा क्रमैसँग गरिने एमाले जिल्ला अध्यक्ष पन्तले उज्यालो अभियानसँग बताए । नेताहरुले सभा सम्मेलन र जुलुसमात्रै गर्दैनन् सचेतना जगाउने काम पनि गर्छन् भन्ने सन्देश दिन पनि कोरोना संक्रमणविरुद्ध सचेतना जगाउन सुरु गरिएको पन्तको भनाई छ ।