ओली समूहको एमाले सर्लाहीकी इन्चार्ज महतो र सहइन्चार्ज बैठा र न्यौपाने ।
मलंगवा – नेकपा एमालेको केपी ओली समूहले सर्लाही इन्चार्जको जिम्मेवारी कमलादेवी महतोलाई दिएको छ ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको सुक्रवार बसेको बैठकले मलंगवा निवासी महतोलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै, हरिवन निवासी बद्रीप्रसाद न्यौपाने र पर्सा गाउँपालिकाको संग्रामपुर निवासी रवीन्द्र बैठालाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।
सर्लाहीमा एमालेको जिल्ला अध्यक्षमा अहिले नेपाल–खनाल समूह निकटका रेवती पन्त छन् । यसैबीच, नेकपा एमालेले प्रदेश २ कमिटीमा हेरफेर गरेको छ ।
दुई दिनसम्म बसेर सुक्रवार सकिएको एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको हो । प्रदेश इन्चार्जको जिम्मेवारी रघुविर महासेठले पाएका छन् ।
यसअघि सत्यनारायण मण्डल प्रदेश इन्चार्ज थिए । मण्डल लामो समयदेखि प्रदेश २ को इन्चार्ज रहँदै आएका थिए ।
त्यस्तै अध्यक्षको जिम्मेवारी ज्वालाकुमारी साहले पाएकी छिन् । साह यसअघि नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य थिइन् । एमालेमा प्रवेश गरेपछि माओवादीले उनलाई प्रदेशसभा सदस्यबाट हटाएको थियो ।
यसअघि माओवादी केन्द्रबाट आएका प्रभु साह प्रदेश कमिटी अध्यक्ष थिए । प्रदेश सचिव भने सुमनराज प्याकुरेल यथावत छन् । यसअघिका इन्चार्ज मण्डल र अध्यक्ष साहलाई अन्य जिम्मेवारी दिइएको छ ।