logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा नेपाल–खनाल समूहको युवा संघ भेला, पन्त नै जिल्ला अध्यक्ष हुन : योगेश भट्टराई


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा शनिवार नेकपा एमाले नेपाल–खनाल समूह निकट युवा संघ नेपालको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ ।

युवा संघ नेपालका जिल्ला संयोजक जयबहादुर गोलेको अध्यक्षता तथा पार्टीका नेता एवं पूर्वमन्त्री योगशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्वोधन गर्दै नेता भट्टराईले सर्लाहीमा एमालेको अध्यक्ष रेवती पन्त नै रहेको बताए ।

केही दिनअघि पन्त अध्यक्ष होईन भन्दै ओली समूहका नेताहरुले निकालेको विज्ञप्तीप्रति लक्षित गर्दै नेता भट्टराईले मैले विज्ञप्ती निकालेर केपी ओली एमालेको अध्यक्ष होईन् भन्दा मान्नुहुन्छ ? भन्दै प्रश्न गरे । भट्टराईले आफू पार्टीको केन्द्रीय सचिव भएको हैसियतले सर्लाहीमा निर्वाचित जिल्ला अध्यक्ष पन्त नै अर्को अधिवेशन नहुन्जेल जिल्ला अध्यक्ष रहिरहने बताए ।

भेलालाई पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, जिल्ला अध्यक्ष पन्त, प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती र बेची लुंगेली लगायतले सम्वोधन गरेका छन् । यस्तै, शनिवारकै भेलाबाट जिल्ला संयोजक जयबहादुर गोले अध्यक्ष रहने गरी युवा संघ नेपालको ५५१ सदस्यीय सर्लाही जिल्ला कमिटी गठन गरिएको छ ।

भेलाकै अवसरमा नयाँरोडदेखि हरिवनसम्म महिला तथा पुरुष दौड प्रतियोगिता समेत सम्पन्न गरिएको छ ।