logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कलाकारले तताउँदै सोल्टी महोत्सव, आज प्रमोद खरेलको प्रस्तुति


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/उज्यालो अभियान, सोल्टी – सर्लाहीको बागमती नगरपालिकाको सोल्टी बजारमा आयोजित प्रथम सोल्टी महोत्सवमा आज (बिहिवार) गायक प्रमोद खरेलले प्रस्तुति दिने भएका छन् ।

दिनहुँ कलाकारहरुले तताइरहेको महोत्सवमा आज चर्चित गायक खरेलको प्रस्तुति रहने महोत्सवका संयोजक कल्याणमणि राईले जानकारी दिए । सोल्टी युवा क्लबको आयोजनामा चैत १६ गतेदेखि यो महोत्सव चलिरहेको हो ।

सोल्टीलाई देश तथा विदेशमा परिचित गराउने मुख्य उदेश्यसहित पहिलो पटक महोत्सवको आयोजना गरेको महोत्सवका सह–संयोजक तारा लामाले बताए । चैत २५ गतेसम्म चल्ने यस महोत्सवमा २१ गते मोडेल ज्योति मगर, २३ गते गायिका मेलिना राई, २४ गते मोडेल एवं हास्यकलाकार विल्सन विक्रम राई र २५ गते गायक शिव परियारको प्रस्तुति रहने आयोजक सोल्टी युवा क्लबले जनाएको छ ।

विभिन्न खेल तमासासँगै स्थानीय र बुगिबुगीका कलाकारहरुको प्रस्तुति समेत रहेको महोत्सवमा ५० हजार जनाले अवलोकन गर्ने आयोजकले दावी गरेको छ । महोत्सव आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकका कामना क्याप्छाकी मगरले जानकारी दिए ।

महोत्सवको चैत १६ गते एक भव्य समारोहकाबीच बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उद्घाटन गरेका थिए ।