वडाध्यक्ष रेजा
हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजामाथि दुव्र्यवहार गरेको आरोपमा सुक्रवार दिउँसो ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अली हुसेन मन्सुर र उहाँका छोराहरु अजमद् मन्सुर र गुलाम मन्सुर रहेका छन् । उनीहरुले सुक्रवार दिउँसो वडा कार्यालय समेत रहेको पुरानो नगरपालिका कार्यालयमा आएर आफूलाई दुव्र्यवहार गरी सट समेत च्यातिदिएको र उपमेयर रेणुका पौडेलमाथि गालीगलौच गरेको वडाध्यक्ष रेजाले बताए ।
घरमाथिबाट बिजुलीको तार लान खोजिएपछि हरिवनको एनआईसी एशिया बैंकदेखि केही दक्षिणतर्फ घर रहेका मन्सुर परिवार असन्तुष्ट छ । गाउँका अरु सबैले तार बिस्तार गर्न दिएका तर मन्सुर परिवारले भने पटक–पटक सम्झाई बुझाई गर्दा पनि नमानेका वडाध्यक्ष रेजाको आरोप छ । आफूमाथि बिना कारण आक्रमण भएको उनको भनाई छ ।
ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश कुमार यादवले पक्राउ परेका तीनै बाबु छोरालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिए । उनले प्रहरी घटनास्थलमा पुग्दा वडाध्यक्ष रेजाको सर्ट च्यातिएको पाइएको बताए ।