ट्याक्टर चोरीमा संलग्नहरुलाई सार्वजनिक गरिँदै ।
हरिवन – सर्लाहीको हरिवनबाट चोरी भएको ट्याक्टर प्रहरीले भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलराबाट बरामद् गरेको छ ।
चैत ९ गते हरिवन नगरपालिका–११, बासाटोलका भीमबहादुर कटुवालको ना ७ त ४१४३ नम्वरको ट्याक्टर चोरी भएको थियो । ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ जिल्लाका सबै युनिटहरुमार्फत खोजतलास तीव्र पारेको प्रहरीले गएसाँझ बलरा नगरपालिका–७, अर्नाहाबाट चोरी भएको ट्याक्टर बरामद् गरेको हो ।
प्रहरी चौकी अर्नाहाको टोलीले ट्याक्टरसँगै चोरीमा संलग्न पाँच जना व्यक्तिहरुलाई समेत पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–११ का १९ वर्षीय आजम हुसेन, बलरा नगरपालिका–५, का २५ वर्षीय रामईश्वर साह, सोही ठाउँका २० वर्षीय सिकिन्द्र साह, २० वर्षकै प्रदीप साह र रामनगर गाउँपालिका–५, का २३ वर्षीय लखिन्द्र पण्डित रहेका छन् ।
उनीहरु पाँचै जनाविरुद्ध चोरी मुद्वामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।