सांकेतिक तस्बिर ।
मलंगवा – सर्लाहीको हरिपुर र कविलासीमा भएका अलग–अलग मोटरसाइकल दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।
मंगलवार राती हरिपुर नगरपालिका–३, ढेङग्रा पुलमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा ३ जना घाईते भएका प्रहरीले जनाएको छ । नवलपुर–मलंगवा सडकमा दक्षिणतर्फ गइरहेको ज २ प ५६५९ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश–२–०१–००१ प ०४५६ नम्वरको मोटरसाइकल ठोक्किएका हुन् ।
दुर्घटनामा ज २ प ५६५९ नं. को मोटरसाइकलका चालक हरिपुर नगरपालिका–३, का २० वर्षीय राजेश महतो, प्रदेश २–०१–००१ प ०४५६ नम्वरको मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–३, का १८ वर्षीय अजय यादव र अजयले चलाएको मोटरसाइकल पछाडि सवार चन्द्रनगर–३, कै राकेशकुमार महतो घाईते भएका हुन् । उनीहरुलाई उपचारका लागि नवलपुरतर्फ ल्याइएको छ ।
यस्तै, मंगलवार दिउँसोपख कविलासी नगरपालिका–५, पचगछियास्थित रनिया–पिपरीया सडकखण्डमा पनि दुईवटा मोटरसाइकल जुध्दा ३ जनानै घाईते भएका छन् ।
पिपरीयातर्फ आइरहेको पीबी ४ एसई ४३५५ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको बीआर ३० एफ ८९७८ नम्वरको मोटरसाइकल आपसमा ठक्कर खाँदा बीआर ३० एफ ८९७८ नम्वरको मोटरसाइकलका चालक कविलासी नगरपालिका–४, का २५ वर्षीय अजय बैठा, पीबी ४ एसई ४३५५ नम्वरको मोटरसाइकलका चालक कौडेना गाउँपालिका–१, सुखचैनाका २० वर्षीय पुरुषोत्तम राउत र पछाडि सवार गोडैता नगरपालिका–१०, का १८ वर्षीय जयराम राउत घाईते भएका छन् ।
उनीहरुलाई उपचारका लागि सदरमुकाम मलंगवातर्फ पठाइएको प्रहरीले जनाएको छ ।