चन्द्रनगर – चर्को विरोधकै बीच सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्न खोजिए पनि शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तिहाई बहुमत नपुगेपछि तत्कालका लागि गाउँपालिकाको केन्द्र सार्ने निर्णय हुन नसकेको बताईएकोछ ।
गाउँपालिका अध्यक्ष महेन्द्र महतोले शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तीहाई बहुमत नपुगेका कारण तत्काललाई गाउँपालिकाको केन्द्र सार्ने निर्णय हुन नसकेको जानकारी दिए । ३९ जना गाउँसभा सदस्यमध्ये कम्तिमा २६ जना (दुईतीहाई) ले सहमति नजनाएसम्म केन्द्र सार्ने निर्णय हुन सक्दैन । स्रोतका अनुसार केन्द्र सार्ने पक्षमा २५ जना सदस्य मात्र सहभागी भएका छन् ।
वडा नं.४, ६ र ७ का वडाध्यक्ष सहित वडासदस्यहरु केन्द्र सार्ने निर्णय गर्नका लागि आव्हान गरिएको विशेष गाउँसभामा उपस्थित नभएको बताईएको छ । अध्यक्ष महतोको अनुसार बबरगंज स्थित दुर्गा जनता खोभारी माविमा विशेष गाउँसभा बसेको हो । उनका अनुसार दिउँसो ११ बजे बैठक बोलाएपनि २ बजेबाट मात्र सूरु भएकाले राती अबेरसम्म बैठक चलेको थियो । गाउँपालिकाको केन्द्र सार्ने निर्णय मात्र नभई गत आर्थिक वर्षको आयव्यय पारित गर्ने, चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने लगायत विषयमा समेत छलफल गर्न विषेश गाउँसभा बोलाईएको अध्यक्ष महतोले दाबी गरे ।
वडा नं। ६ का वडाध्यक्ष रामचन्द्र कापरले आफू सहित वडा नं। ४ र ७ का वडाध्यक्ष सहित वडासदस्य तथा वडा नम्बर १ का केही सदस्यहरु समेत विशेष गाउँसभामा सहभागि नभएको दाबी गरे । गाउँपालिका अध्यक्ष महतो पक्षले जबर्जस्ती बल प्रयोग गरेर वडा नं। ४ का वडाध्यक्ष लगायतलाई विशेष परिषद्मा सहभागि गराउन खोजेपनि नसकेको स्थानीय जयकरण सिंह दनुवारले बताए ।
गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै आक्रोशित स्थानीयको विरोध प्रदर्शनका कारण शुक्रबार दिउँसो चन्द्रनगर गाउँपालिका अन्तर्गत चन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको थियो । गाउँपालिकाका अध्यक्ष महतोका स्वकिय सचिवलाई स्थानीय आक्रोशित समूहले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा केहीबेर चन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशष्त्र प्रहरीले १३ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो ।
प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार गाउँलेको ढुंगा प्रहारबाट दुईवटा ढाल फुटेको छ भने ४ जना प्रहरी सामान्य घाईते भएका थिए । त्यस्तै प्रहरीको लाठीचार्ज एवं अश्रुग्याँस प्रहारबाट डेढ दर्जन बढी प्रदर्शनकारी सामान्य घाईते भएको स्थानीय बासिन्दाले दाबी गरेका छन्
हाल वडा नं। ७ नारिमन ताल छेउमा रहेको गाउँपालिका कार्यालय वडा नं। २ बबरगंज सार्न खोजेको भन्दै वडा नं। ६ र ७ का बासिन्दाले शुक्रबार दिनभर गाउँपालिका कार्यालय भवन तथा चन्द्रनगर बजारमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । हाल गाउँपालिका कार्यालय रहेकै वडा नं। ७ का बासिन्दा गाउँपालिका अध्यक्ष महतोका स्वकिय सचिब साहको मुख्य हात रहेको भन्दै स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको बताईएको छ ।
केन्द्र सार्ने विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । कांग्रेस सर्लाहीका पूर्व सभापति सत्यदेव सिंह दनुवारले गाउँपालिका कार्यालय सारेको भन्दै स्थानीय बासिन्दाको समूहले विरोध प्रदर्शन गरेको जानकारी दिए ।
यता गाउँपालिका अध्यक्ष महतो भने गाउँसभाको दुईतीहाई मतले पारित गरेर प्रदेश सरकार तथा संघीय सरकार समक्ष सिफारिस गरिने र सिफारिस सदर भएपछि मात्र कार्यालय सर्ने बताउँछन् । ‘अहिले कार्यालय सरिसकेको छैन, गाउँसभाको दुईतीहाई बहुमतले निर्णय पारित गरेर सिफारिस गर्ने र प्रदेश हुँदै केन्द्रले स्वीकृति दिएपछि मात्र केन्द्र सर्छ, यहाँ त सबै कागजात लगिसक्यो भन्दै अनावश्यक हल्ला चलाईएको छ’, गापा अध्यक्ष महतोले उज्यालो अभियानसँग भने, ‘दुईवटा वडा बाहेक ५ वटा वडाका वडाध्यक्ष सहित वडासदस्य एवं गाउँलेले पहिलादेखि नै गाउँपालिका कार्यालय सार्न मलाई दबाव दिँदै आएका छन्, चुनावमा उठ्दादेखि नै मलाई अधिकांश मतदाताले कार्यालय सार्नुपर्ने प्रतिवद्धता मागेका थिए, त्यसैले विशेष गाउँसभा बोलाएको थिएँ, तर दुईतीहाई पुगेन ।’ उनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।
गाउँपालिकाको केन्द्र सार्न खोजिएको बबरगञ्ज गाउँपालिका अध्यक्ष महतो र उनका दाई जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र महतो तथा प्रदेश सांसद् उपेन्द्र महतोको आफ्नै गाउँ हो ।