logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीको चन्द्रनगर तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन सुरक्षाकर्मीद्वारा १३ सेल अश्रुग्याँस प्रहार


  • उज्यालो अभियान

शुक्रबार मध्यान्ह चन्द्रनगर बजारमा जम्मा भएका स्थानीय । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर ( गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै आक्रोशित स्थानीयले चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोका स्वकिय सचिवलाई आक्रमण गर्न खोजेपछि चन्द्रनगर तनावग्रस्त बनेको छ । आक्रोशित भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशष्त्र प्रहरीले १३ सेल अश्रुग्याँस प्रहार गरेको छ ।

‘गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै आक्रोशित भिडले अध्यक्षज्युको स्वकिय सचिब रामकैलास साहमाथि आक्रमण गरेपछि स्थितिलाई नियन्त्रमा लिन अश्रुग्याँस चलाउनु पर्यो’, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग भने, ‘नेपाल प्रहरीको तर्फबाट १० तथा सशस्त्र प्रहरीको तर्फबाट ३ सेल अश्रुग्याँस प्रहार भएको छ, अहिले घटनास्थलको अवस्थामा सामान्य बनिसकेको छ ।’ प्रहरी उपरीक्षक राठौरले साहलाई सुरक्षाका लागि मलंगवा ल्याईएको समेत बताए । प्रहरी उपरीक्षक राठौरका अनुसार गाउँलेको ढुंगा प्रहारबाट दुईवटा ढाल फुटेको छ भने ४ जना प्रहरी सामान्य घाईते भएका छन् । त्यस्तै प्रहरीको लाठीचार्ज एवं अश्रुग्याँस प्रहारबाट डेढ दर्जन बढी प्रदर्शनकारी सामान्य घाईते भएको स्थानीय बासिन्दाले दाबी गरेका छन्

हाल वडा नं. ७ नारिमन ताल छेउमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगंज सार्न खोजेको भन्दै वडा नं. ६ र ७ का बासिन्दाले शुक्रबार मध्यान्हदेखि गाउँपालिका कार्यालय भवन तथा चन्द्रनगर बजारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् । हाल गाउँपालिका कार्यालय रहेकै वडा नं. ७ का बासिन्दा गाउँपालिका अध्यक्ष महतोका स्वकिय सचिब साहको समेत हात रहेको भन्दै स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको बताईएको छ ।

नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । कांग्रेस सर्लाहीको पूर्व सभापति सत्यदेव सिंह दनुवारले गाउँपालिका कार्यालय सारेको भन्दै स्थानीय बासिन्दाको समूहले विरोध प्रदर्शन गरेको जानकारी दिए । ‘गाउँपालिका अध्यक्ष लगायत वडाध्यक्षहरुको मिलेमतोमा गापा अध्यक्ष महतोकै गाउँ बबरगंजमा कार्यालय सार्ने षडयन्त्र भएपछि हाँमी सबै विरोधमा उत्रिएका हौं’, दनुवारले उज्यालो अभियानसँग भने । स्थानीयको समूहले गाउँपालिका कार्यालय तालाबन्दी समेत गरेका छन् ।

गाउँपालिका अध्यक्षले कार्यालयमा नगरी आफ्नै घरमा विशेष गाउँसभा बोलाएर कार्यालय सार्ने षडयन्त्र गरेको स्थानीयको आरोप छ । वडा नं. ६ र ७ का बासिन्दाको गाउँपालिका कार्यालय सारिसकेको समेत दाबी छ ।

यता गाउँपालिका अध्यक्ष महतो भने गाउँसभाको दुईतीहाई मतले पारित गरेर प्रदेश सरकार तथा संघीय सरकार समक्षा सिफारिस गरिने र सिफारिस सदर भएपछि मात्र कार्यालय सर्ने जानकारी दिए । ‘अहिले कार्यालय सरिसकेको छैन, भोली विशेष गाउँपरिषद् बोलाएको छु, परिषदले दुईतीहाई बहुमतले निर्णय गर्छ गर्दैन त्यो मलाई थाहा छैन’, गापा अध्यक्ष महतोले उज्यालो अभियानसँग शुक्रबार दिउँसो भने, ‘दुईवटा वडा बाहेक ५ वटा वडाका वडाध्यक्ष सहित वडासदस्य एवं गाउँलेले पहिलादेखि नै गाउँपालिका कार्यालय सार्न मलाई दबाव दिँदै आएका छन्, चुनावमा उठ्दादेखि नै मलाई अधिकांश मतदाताले कार्यालय सार्नुपर्ने प्रतिवद्धता मागेका थिए ।’ उनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे । ३९ सदस्यीय गाउँसभामा कम्तिमा २६ जना गाउँसभा सदस्यले सार्नुपर्ने पक्षमा हस्ताक्षर गरेभने मात्र कार्यालय सार्ने प्रकृया अगाडी बढ्ने अध्यक्ष महतोको भनाई छ ।