logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जिल्ला स्तरीय ब्याडमिन्टनमा जय र उत्सवकाे जाेडी च्याम्पियन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा शुक्रबार साँझ सम्पन्न प्रथम मेयर कप जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा आयोजक च्याम्पियन बनेको छ ।

हरिवन नगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा आयोजक नव–चतुर्भूजेश्वर ब्याडमिन्टन क्लब हरिवन–१०, खुल्ला र उमेर समूह दुवैतर्फ बिजेता बनेको हो । सुखेपाेखरी स्थित कभर्डहलमा दुई दिनसम्म चलेकाे प्रतियाेगिता अन्तर्गत खुल्लातर्फ आयोजक क्लबका जय गोले र उत्सव राज भण्डारीको जोडी उपाधी चुम्न सफल भयाे । उनीहरुले फाईनल प्रतिष्पर्धामा बयलवास ब्याडमिन्टन क्लबका लालबाबु यादव र युवराज राउतको जोडीलाई पराजित गरेका हुन ।

प्रतियाेगिता स्थलमा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालाे अभियान)

त्यस्तै भेट्रानतर्फ आयोजक क्लबकै केदार मैनाली र खरुदेव चुडालको जोडी च्याम्पियन बनेकाे छ । उनीहरुले मूर्तिया ब्याडमिन्टन क्लबका हर्ष श्रेष्ठ र चेतबहादुर ठकुरीको जोडीलाई पराजित गरेका हुन् । जितसँगै बिजेता जोडीलाई नगद १० हजार सहित प्रथम शिल्ड तथा उपबिजेता जोडीलाई ४ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियाेगितामा हरिवन, मलंगवा, डाबरी, बरहथवा, इश्वरपुर, लालबन्दी, बागमती लगायत स्थानबाट खुल्लातर्फ १७ र भेट्रानतर्फ ८ जोडीले सहभागिता जनाएका थिए । प्रतियोगिताको बिजेता एवं उपबिजेतालाई हरिवनका नगरप्रमुख गणेशप्रसाद प्रसाई र उपप्रमुख रेणुका पौडेलले पुरस्कार वितरण गरे । कार्यक्रममा आयोजकले प्रतियोगिता गराउन सहयोग गरेको भन्दै नगरप्रमुख प्रसाई, उपप्रमुख पौडेल, हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनाली, अन्य वडाका वडाध्यक्षहरु र राष्ट्रिय स्तरको ब्याडमिन्टनमा प्रदेश २ च्याम्पियन बन्न सफल निकिता लामालाई सम्मान पत्रसहित सम्मान गरेको छ । हरिवन नगरपालिकाको झण्डै एक करोड रुपियाँ लगानीमा निर्मित कभर्ड हलको उद्घाटनको अवसर पारेर ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो ।

फाेटाे क्याप्सन : च्याम्पियन जय र उत्सब प्रथम शिल्ड सहित । (तस्बिर : उज्यालाे अभियान)