logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेकपा नेतृ झाँक्रीलाई अविलम्ब पक्राउ गर्न सर्लाहीका सीडीओलाई ज्ञापन


  • उज्यालो अभियान

प्रजिअ पौडेललाई बुधबार ज्ञापन–पत्र बुझाउँदै महिला नेतृहरु । (तस्बिर : उज्यालो अभियान)
रामकुमारी झाँक्री

मलंगवा – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले नेकपा नेतृ एवं विघटित संघीय सांसद् रामकुमारी झाँक्रीलाई अविलम्ब पक्राउ गरी कानूनी कठघेरामा उभ्याउन माग गरेका छन् ।

बुधबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन–पत्र बुझाउँदै अनेमसंघमा आवद्ध महिलाहरुको समूहले त्यस्तो माग गरेको हो । २०७७ माघ १६ गते गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक कार्यक्रममा राष्ट्रकै प्रमुख राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई तत्काल पक्राउ गरी कानून बमोजिम हदैसम्मको सजाय गर्न ज्ञापन–पत्रमा जोडदार माग गरिएको छ । ‘गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक राजनैतिक भेलामा नेपाल कम्युनिष्ट पार्टीकी निवर्तमान सांसद् रामकुमारी झाँक्रीले सार्वजनिक रुपमा दिएको अभिव्यक्ति अत्यन्त आपत्तिजन छ, उक्त अभिव्यक्तिमा काठमाडौं निवासी निवर्तमान सांसद् रामकुमारी झाँक्रीले नेपालको गणतन्त्रको प्रतिक सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छाना, गाली बेईज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपति पदकै ईज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकी छन्’, ज्ञापन–पत्रमा माग गरिएको छ, ‘अनेमसंघ यो क्रियाक्लापको घोर भत्र्सना गर्दछ, राष्ट्रपति संस्था संविधानको संरक्षक हो र त्यो संस्थाको मान, मर्यादा र गरिमाको संरक्षण गर्ने प्रमुख जिम्मेवारी नेपाल सरकारको हो, त्यसैले निजलाई तुरुन्त पक्राउ गरी प्रचलित कानून बमोजिम हदैसम्म सजाय गर्न जोडदार माग गर्दछौं ।’

अनेमसंघका नेतृहरुले प्रमाणको रुपमा भन्दै प्रजिअ पौडलललाई ज्ञापन–पत्र सँगै नेतृ झाँक्रीले बोलेको भिडियो क्लिप समेत बुझाएका छन् । अनेमसंघ केन्द्रीय सदस्य तारादेवी सुबेदीको हस्ताक्षर रहेको ज्ञापन–पत्र प्रजिअ पौडेललाई उनकै कार्यकक्षमा बुझाउन सुबेदी सहित पार्वती विश्वकर्मा, सीता थापा लगायत आधा दर्जन महिला नेतृहरुको उपस्थिती रहेको थियो ।