‘काठमाडौंबाट मधेशलाई हेर्ने चश्मा नै गलत’

8
हरिवन–५, घुर्कौलीमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कोइराला (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा. शेखर कोइरालाले काठमाडौंबाट मधेशलाई हेर्ने चश्मा फेर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले शनिबार हरिवनको पाख्रिनटोल स्थित कटेजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले काठमाडौंले मधेशप्रति हेर्ने चश्मा गलत भएको र जसले गर्दा मधेश र मधेशी जनताको उत्थान हुन नसकेको दाबी गरे । ‘मधेशप्रति काठमाडौंबाट हेर्ने चश्मा फेर्नैपर्छ, काठमाडौंबाटै मधेशको मुद्धा हेर्न थालियो भने मधेश र मधेशी जनताको कहिल्यै हित हुदैन’, कोइरालाले भने, ‘मधेशको बास्तविकता बुझ्ने भन्दा काठमाडौंमै बसेर मधेशी जनताले उठाएको मुद्धाहरुको सम्बोधन गर्ने राजनैतिक प्रवृत्तिको अन्त्य नभएसम्म मधेश र मधेशी जनताको कहिल्यै हिन हुँदैन ।’

मधेशको पक्षमा सँधै लागिपर्ने नेपालको एकमात्र पार्टी कांग्रेस भएको दाबी गर्दै मधेशी जनताको माया कांग्रेस बाहेक अन्य पार्टीलाई नरहेको समेत नेता कोइरालाको जिकिर थियो । ‘अबको चुनाबबाट मधेशी जनताको मायाले कांग्रेस पहिलो पार्टी बन्छ’, कोइरालाको ठोकुवा थियो, ‘मधेश र मधेशी जनतालाई माया गर्ने पनि कांग्रेस बाहेक अन्य कुनै राजनैतिक पार्टी हुदैनन् ।’
नेता कोइरालाले प्रमुख विपक्षी दलको हैसियतले संसद् विघटन प्रकरण पश्चात कांग्रेसले ७ वटै प्रदेशमा प्रदेश सरकार विरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा खुलेरै लाग्ने दाबी गरे । ‘हाँमी प्रमुख प्रतिपक्षी दल हौं, त्यसैले जुनसुकै सरकार विरुद्ध आउने अविश्वास प्रस्तावको पक्षमा लाग्ने छौं’, कोइरालाले भने, ‘कम्युनिष्टहरु सित मिलेर प्रदेश सरकार बनाउने तिर लाग्दैनौ ।’

नेता कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा आफू अध्यक्षको उम्मेद्वार रहेको समेत खुलासा गरे । ‘हो म आगामी महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेद्वार हो’, उनले भने, ‘तथापी अझैपनि मैले आफूभन्दा सिनियर अनि नेता कार्यकर्ताहरुसँग छलफल जारी राखेको छु, उहाँहरुले जे भन्नुहुन्छ, त्यही गर्छु ।’

पार्टीले तोके अनुसार फागुन ७ गते केन्द्रीय महाधिवेशन नहुने समेत उनले ठोकुवा गरे । ‘फागुन ७ गते महाधिवेशन हुनै सक्दैन र सम्भव पनि छैन’, कोइरालाले भने, ‘अब बैशाख १७ गते चुनाव भयो भनेपनि र नभएपनि भदौमा अनिवार्य रुपमा पार्टीको महाधिवेशन गर्नै पर्छ, नत्र संवैधानिक रुपमा कांग्रेसको अस्तित्व समाप्त हुन्छ ।’

पार्टी भित्र वैचारिक गुट उपगुट रहेको स्विकार गर्दै नेता कोइरालाले कम्युनिष्ट र मधेशवादी पार्टीसित लड्ने सबालमा नेपाली कांग्रेस एकजुट हुने दाबी समेत गरे । त्यस्तै प्रमुख प्रतिपक्षी दलको रुपमा संघीय संसद्मा पार्टीले आफ्नो उपस्थिती देखाउन नसकेको समेत नेता कोइरालाले स्विकार गरे । ‘प्रमुख विपक्षी दलको हिसाबले संसद्मा जसरी प्रस्तुत हुनुपथ्र्यो, त्यो नभएकै हो’, नेता कोइरालाको स्विकार थियो, ‘हाम्रो छायाँ सरकारले पनि सोचे अनुसार काम गर्न नसकेकै हो, जसले गर्दा प्रधानमन्त्री केपी ओलीको मनोबल बढ्दै गएका कारण मुलुकले आजको अवस्था भोग्नु परेको छ, यस्तो अवस्था आउनुमा नेकपाका प्रचण्ड–नेपाल गुटको पनि उतिकै भूमिका रहेको छ ।’

प्रचण्ड–नेपाल गुटपनि प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनको मतियार रहेको कोइरालाले आरोप लगाए । ‘प्रचण्ड–नेपाल समूह पनि वर्तमान सरकारकै मतियार हुन्’, कोइरालाले भने, ‘पुस ५ अघि सरकारले गरेका हरेक असंवैधानिक निर्णयमा उनीहरुले पनि सहयोग गरेका थिए, जसले गर्दा प्रधानमन्त्री ओलीले संविधानमा अधिकार नै नभएको संसद् विघटन जस्तो कदम उठाउने आँट गरे ।’

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक रहेको दाबी गर्दै नेता कोइरालाले यो विषयमा कांग्रेस एक रहेको समेत प्रश्ट्याए । ‘संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक कदम हो, विघटन गरेर सरकारले मुलुकलाई द्वन्द्वमा फसाएको छ, त्यसैले संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हाम्रो पहिलो माग हो’, कोइरालाले पार्टीको धारणा थप प्रश्ट्याउँदै भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले, उक्त मुद्धामा सम्मानित सर्बोच्च अदालतले गरेको फैसलालाई पनि हाँमी शिरोधार्य गर्नेछौं, अदालतको फैसलामा चित्त बुझेपनि नबुझेपनि स्वतन्त्र न्यालयले चुनावको पक्षमा फैसला दिए हाँमी निर्वाचनमा पनि सहभागि हुन्छौं, तर निर्वाचन सुनिश्चितताका लागि फेरि पनि हाँमी सशक्त विरोधमा जाने छौं ।’