logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस नेता कोइरालाको आरोप, ‘वर्तमान सरकार अपराधीहरुको थलो’


  • उज्यालो अभियान

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस नेता कोइराला । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकार अपराधीहरुको थलो बनेको आरोप लगाएका छन् ।

शुक्रबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा कांग्रेसद्वारा आयोजित महिला सशक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले सर्बोच्च अदालतले जन्मकैद फैसला गरिसकेका अपराधीहरुको प्रधानमन्त्री निवास बालुवाटारमा नियमित आउजाउ भईरहेको उल्लेख गर्दै वर्तमान सरकार अपराधीहरुको थलो बनेको आरोप लगाए । ‘रामहरि श्रेष्ठ हत्या काण्डमा सर्बोच्च अदालतले जन्मकैद फैसला गरेका कालिबहादुर खाम अहिले दिनहु बालुवाटारमै हुन्छन्’, नेता कोइरालाले भने, ‘पासपोर्ट काण्डका अभियुक्त शिवपुजन रायलाई पनि पार्टी प्रवेश गराएर अपराधीहरुको थलो बनाईएको छ, धमाधम पार्टी प्रवेश गराएर सरकार अपराधीहरुको थलो बनिरहेको छ ।’

त्यस्तै वर्तमान सरकार किसानमारा समेत रहेको कोइरालाको भनाई थियो । ‘सर्लाहीका उखु किसान नारायण यादवको काठमाडौंमा आन्दोलन गर्दै गर्दा मृत्यु भयो, उनको आत्माले यो सरकारलाई कहिल्यै क्षमा दिने छैन ’, कोइरालाले भने, ‘त्यसैले यो सरकार किसानमारा पनि हो ।’

संविधानमा हुँदै नभएको अधिकारलाई टेकेर प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको सिफारिस गरेको उल्लेख गर्दै नेता कोइरालाले वर्तमान सरकार सर्वसत्तावाद उन्मुख भएको आरोप लगाए । प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक रहेको दाबी गर्दै नेता कोइरालाले यो विषयमा कांग्रेस एक रहेको समेत प्रश्ट्याए । ‘तपाईहरुलाई द्विविधा होला, संसद् विघटनको मुद्धामा कांग्रेस एक छैन भनेर, हाँमी एक छौ, संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक कदम हो, विघटन गरेर सरकारले मुलुकलाई द्वन्द्वमा फसाएको छ, त्यसैले संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो’, कोइरालाले पार्टीको धारण थप प्रश्ट्याउँदै भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले, उक्त मुद्धामा सर्बोच्च अदालतले जे फैसला गरेपनि हाँमी मान्ने छौं, चित्त बुझेपनि नबुझेपनि स्वतन्त्र न्यालयको फैसलालाई शिरोधार्य गर्दै चुनावक्को पक्षमा फैसला आए हाँमी निर्वाचनमा पनि सहभागि हुन्छौं ।’

संसद् विघटन असंवैधानिक हो भन्दै कांग्रेसले विरोध सभा गरिरहेको स्मरण गराउँदै नेता कोइरालाले सर्बोच्चले विघटनको पक्षमा फैसला गरे बैशाख १७ गते निर्वाचन सुनिश्चितताका लागि फेरि पनि सशक्त विरोध प्रदर्शनका लागि तयार रहन कार्यकर्तासँग आग्रह गरे । सर्बोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गर्यो र बैशाखमा चुनाव हुन सकेन भने मुलुक ठूलो द्वन्द्वमा फस्ने नेता कोइरालाको दाबी थियो । ‘चुनाव सर्यो भने मुलुक ठूलो भूमरीमा फस्छ’, कोइरालाले शंका व्यक्त गर्दै थपे, ‘संघीयता धरापमा पर्छ र जान्छ कि भन्ने चिन्ता पनि लागिरहेको छ ।’ पार्टी भित्रको द्वन्द्वको बहानामा प्रधानमन्त्री ओलीले मुलुकलाई नै द्वन्द्वमा फसाएको कोइरालाले आरोप लगाए ।

नेकपा प्रचण्ड र नेपाल समूह पनि वर्तमान सरकारकै मतियार भएको कोइरालाको आरोप थियो । ‘प्रचण्ड–नेपाल समूह पनि वर्तमान सरकारकै मतियार हुन्’, कोइरालाले भने, ‘पुस ५ अघि सरकारले गरेका हरेक असंवैधानिक निर्णयमा उनीहरुले पनि सहयोग गरेका थिए ।’

कांग्रेसको आफ्नो छुट्टै पहिचान भएकाले आन्दोलनमा कम्युनिष्टहरुसँग सहकार्य नहुने समेत कोइरालाले स्पष्ट पारे । ‘कांग्रेसको आफ्नो छुट्टै पहिचान छ, त्यसैले कम्युनिष्टहरुसँग सहकार्य गर्दैंनौं’, उनले भने, ‘आफ्नै बलबुताले आन्दोलन सशक्त पार्ने छौं ।’

कांग्रेसका नेता कार्यकर्तामा चारवटा गलत चरित्र हावी हुँदै गएको र त्यस्ता चरित्र नत्यागे पार्टी स्वच्छ नहुने भन्दै कोइरालाले चिन्ता व्यक्त गरे । ‘कांग्रेसीहरुमा पछिल्लो समय व्यक्तिवादी, स्वार्थी, जातिय र साम्प्रादायिक चरित्रहरु हाबी हुँदै गएको छ’, नेता कोइरालाले नेता कार्यकर्तालाई आग्रह गर्दै भने, ‘म हैन हाँमी भन्ने गरौं, यी सबै चरित्रहरु त्यागौं अनि मात्र पार्टी बलियो र एकढिक्का हुन्छ ।’ पार्टीका संस्थापक विपी कोइरालाको भनाई स्मरण गराउँदै उनले एक मुठी माटो हातमा लिएर सोच्न र त्यस अनुसार अगाडी बढ्न समेत कार्यकर्ताहरुमा आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु महालक्ष्मी डिना उपाध्याय, दिपक गिरी, रामकृष्ण यादव, रामकृष्ण यादव, सरिता प्रसाईं र जंगीलाल राय, नेताहरु शोभकार पराजुली, पूर्व सांसद् मोहन बराल, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, पूर्व जिल्ला सभापति लक्ष्मण राय, जिल्ला उपसभापति रामवली राय, पूर्व जिल्ला उपसभापति विनोद खनाल, पूर्व सांसद् हरेस महतो, महासमिति सदस्य शिवकुमार गुर्मछान लगायतले बोलेका थिए । कार्यक्रममा कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति एवं वयोवृद्ध नेता बाशुदेव शरण कोइराला, सत्यदेव सिंह दनुवार, अशोक खनाल, महिला नेतृहरु भवानी कोइराला, मन्दिरा आचार्य लगायतको समेत उपस्थिती रहेको थियो । सुनिता घिसिङको सञ्चालन रहेको कार्यक्रममा महिला नेतृ बुककुमारी थापाले स्वागत मन्तव्य राखेकी थिईन् भने रामहरि न्यौपानेले कार्यक्रमबारे प्रश्ट्याएका थिए । प्रमुख अतिथि डा. शेखर कोइराला लगायतले शहिदहरुको तस्बिरमा माल्र्यापण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेता कोइराला शुक्रबार राती आदर्श चोक स्थित सिता प्यालेस होटलमै बास बस्नेछन् । कोइराला शनिबार सुखेपोखरीमा हुने महिला प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्ने र हरिवनको विभिन्न ठाउँमा हुने पार्टी प्रवेश कार्यक्रममा सहभागि हुने कांग्रेस सर्लाहीका नेता विनोद खनालले जानकारी दिए ।