logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा बस पल्टियो, दुईको मृत्यु चालक सहित १७ जना घाईते


  • उज्यालो अभियान

विहिबार बिहान भएको रात्री बस दुर्घटनामा घाईते भई स्वाभिमान अस्पताल हरिवनमा उपचाररतहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिकामा रात्री बस पल्टिँदा दुईजना यात्रुको मृत्यु भएको छ भने चालक सहित १७ जना घाईते भएका छन् ।

दाङबाट काँकडभिट्टा जाँदै गरेको ना. ५ ख ४४८८ नम्बरको रात्री बस सडकबाट तल पल्टिँदा दाङको राप्ती गाउँपालिका–५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोही स्थानकी २३ वर्षीया निर्मला चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजकुमारीको घटनास्थलमै तथा निर्मलाको उपचारका लागि वीरगंजतर्फ लैंजादै गर्दा मृत्यु भएको हो ।

विहिबार बिहान ४ बजेर २० मिनेटमा हरिवन नगरपालिका–११ सशस्त्र प्रहरी बलको बेसक्याम्प नजिक उक्त बस पल्टिएको हो । पूर्व–पश्चिम राजमार्गमा अर्को सबारी साधनलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई पल्टिएको सशस्त्र प्रहरी नायब उपरीक्षक जगन्नाथ खड्काले जानकारी दिए । ‘ठ्याक्कै ४ बजेर २० मिनेटमा ड्याङ्ग आवाज आयो, तत्काल घटनास्थल पुग्दा त बस पल्टिएर यात्रुहरु चिच्याईरहेका थिए’, सशस्त्र नायव उपरीक्षक खड्काले भने, ‘अनि हतार हतार यात्रुको उद्धार गर्यौ, नेपाल प्रहरी लगायतमा खबर गर्यौ ।’ अत्यन्त तिब्र गतिमा रहेको बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

तत्काल दुईवटा जेसिभी मगाएर बसलाई उठाईएको र घाईतेहरुको उद्धार गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । ‘कोही च्यापिएका छन कि भनेर जेसिभीले पल्टिएको बसलाई तत्काल उठाईयो र उद्धार गरियो ।’ सप्रनाउ खड्काले भने ।

त्यस्तै चालक सहित ५ जना गम्भिर घाईते छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बस चालक रुपन्देही बुटवलका ३५ वर्षीय अर्जुन ज्ञवाली, बस सहचालक रुपन्देही लुम्बिनी निवासी २३ वर्षीय किशोर सुबेदी, दाङ राप्तीकी २३ वर्षीया रिता चौधरी, महोत्तरीका ३५ बर्षीया बसन्त कुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरी गम्भिर घाईते भएका छन् । सबैजनाको वीरगंजको न्युरो अस्पतालमा उपचार भईरहेको छ ।

समान्य घाईते १२ जनाको हरिवन स्थित स्वाभिमान अस्पताल र नमूना अस्पतालमा उपचार भईरहेको छ । स्वाभिमानमा उपचाररत घाईतेहरुमा दाङ राप्ती गापा–७ निवासी ४५ वर्षीया आशा चौधरी, २९ वर्षीया सुमित्रा चौधरी, सुमित्राका ५ वर्षीय छोरा शोरम चौधरी, ३१ वर्षीय लक्ष्मी नारायण चौधरी, राप्ती गापा–३ निवासी २० वर्षीया अमृता चौधरी, २२ वर्षीया पुष्पा चौधरी, दाङ निवासी ४९ वर्षीय अजयबहादुर पुन, १८ वर्षीय मितेश चौधरी, रुपन्देहीका ३० वर्षीय सन्तोष पाण्डे, काठमाडौंका ३७ वर्षीय सन्तोष नकर्मी रहेका छन् । रोल्पाकी ३५ वर्षीया सेतु रोका र २२ वर्षीय अर्जुन कुमार रोकाको भने नमूना अस्पतालमा उपचार भईरहेको छ ।

३० जना सबार रात्री बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । ३० जना सबार रात्री बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुका अनुसार बस अत्यन्त तिब्र गतिमा थियो । दुर्घटना हुने अघि पनि पटक–पटक अन्य सबारी साधनलाई उछिन्ने क्रममा आफूहरु त्रसित बनेको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचाररत दाङ घोराहीका अजयबहादुर पुनले जानकारी दिए । उनका अनुसार बस ठयाक्कै विहिबार बिहान ४ बजेर ४ मिनेटमा दुर्घटना भएको हो ।