logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

अझै पाएनन् उखु किसानले पूरानाे बक्यौता


  • उज्यालो अभियान

पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी दिलाउने भन्दै पुष १३ गते गरेको सम्झौतापछि पनि किसानले भुक्तानी पाउन सकेका छैनन् ।

किसानसँग भुक्तानी दिलाउनको लागि सम्झौतामा तोकिएको मिति कटिसक्दा पनि उद्योगीबाट सरकारले किसानलाई सबै रकम भुक्तानी दिलाउन सकेको छैन् । किसानहरुले काठमाडौंमा गएर यस वर्ष पनि पुषको जाडोमा माइतीघर मण्डला अगाडी आनदोलन गरेका थिए  । सरकारले किसानसँग २१ दिन भित्रमा बक्यौता रकम भुक्तानी दिलाईदिने सम्झौता गरेर आन्दोलन रोक्न लगाएको थियो । तर किसानले अहिले सम्म पनि पुरै भुक्तानी पाउन सकेका छैनन् ।  

सर्लाहीमा सञ्चालित तिन चिनी मिलमध्य दुईवटाले गतवर्ष सम्मको सम्पूर्ण रकम भुक्तानी गरिसकेका छन् । तर धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले भने किसानलाई तिर्न बाँकी करिब १७ करोड मध्य ११ करोड ४७ लाख रकम किसानको खातामा हालिसकेको र २ करोड मिल सञ्चालकको खातामा रहेको भएपनि सञ्चालक सम्पर्कमा नरहेकाले किसानको खातामा मात्र हाल्न मिल्ने गरी राष्ट्र बैँक मार्फत सर्कुलर जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । किसानलाई भुक्तानी गरिएको र बैँकमा जम्मा रहेको रकम दुबैलाई हेर्दा किसानले अझै पनि पुरा रकम पाउन नसक्ने प्रजिअ पौडेलले बताए ।

उद्योगीले उखु खरिद गरेवापत किसानलाइ अझैपनि जम्माजम्मि ३ करोड ५३ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखिएको छ । यसरी सरकारले किसानलाई प्रत्येक पल्ट आन्दोलन गर्दा उद्योगीबाट रकम उपलब्ध गराउने आश्वासन दिने गरेको तर सम्झौता गरिएको मिति नै कटिसक्दा पनि भुक्तानी नपाउँदा किसानमा निराशा छाउनुका साथै सरकार प्रतिको विश्वसनियता कम हुदैँ गएको नेपाल उखु उत्पादक महासंघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

उखु बिक्री वापतको भुक्तानी दिलाईदिन माग गर्दै प्रत्येक वर्ष किसान काठमाण्डौँको माईतीघरमा गएर गर्मी चाडो केही नभनी आन्दोलन गर्ने गरेका छन् । यसरी माईतीघर सम्म गएर किसानलाई भुक्तानीका लागि प्रत्येक वर्ष सास्ती खेपाउनु भन्दा सरकार आफैँ जवाफदेही भएर बाँकी बक्यौता भुक्तानीमा सहजीकरण गरिदिनुपर्ने अध्यक्ष मैनालीको भनाई छ ।