logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पैदल यात्रुलाई ठक्कर दिएर फरार जीप शहरी विकास मन्त्री प्रभु साहको


  • उज्यालो अभियान

मन्त्री प्रभु साह ।

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेको जीप शहरी विकास मन्त्री प्रभु साहको भएको पुष्टी भएको छ ।

मन्त्री साहको जीपले लालबन्दी–८, चन्द्रपुर घर भएका ३०/३५ वर्षीय बच्चु तामाङलाई ठक्कर दिएको हो । प्रत्यक्षदर्शी हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस स्वयवियु सभापति प्रज्वल ढुंगानाले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले ठक्कर दिने वितिकै आफूहरु दौडेर घाईतेको उद्धारतर्फ लागेको तर जीप भने फरार भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए । ‘मन्त्रीज्यू चढेको जीपले ठक्कर दिएको रहेछ’, राठौरले भने, ‘दुर्घटनाबार माथि जाहेर गरिसक्यौं, कम्मर खुट्टामा चोट लागेका घाईतेको हरिवनमा उपचार भईरहेको छ ।’ मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा उनी चढेको ना. १ झ ३८४२ नम्बरको जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नोस्

सर्लाहीमा पैदल यात्रुलाई ठक्कर दिएर मन्त्रीको गाडी फरार !

‘अगाडी झण्डा फहराईरहेको थियो, गाडीको पूरै नम्बर हेरेर नोट गर्ने भन्दापनि हाँमीहरु तत्काल घाईतेको उद्धार तर्फ लाग्यौं’, ढुंगानाले उज्यालो अभियानसँग भने, ‘खाली ३८४२ नम्बर जस्तो देखियो, ठक्कर दिने वितिकै जीप रोक्दै नरोकी पूर्व हुँइकियो ।’ जीपले पौने १२ बजे तिर पैदल यात्रुलाई ठक्कर दिएको हो ।

मुलुकको मन्त्री जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाईतेको उद्धार लगायतमा सहभागि हुनुको सट्टा फरार हुनु मानवीय संवेदना विहिन देखिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । ‘यो त कस्तो गैर जिम्मेवार प्रवृत्ति हो’, ढुंगानाले भने, ‘मन्त्री जस्तो मान्छे चढेको जीपले ठक्कर दिएपछि घाईतेको उद्धारमा लाग्नुको सट्टा भाग्नु भनेको गैर जिम्मेवारी र मानव संवेदन हिनता प्रस्तुत भएको छ ।’