सदरमुकाम मलंगवा स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा मंगलबार बिहानबाट खटिएका सुरक्षाकर्मी । (तस्बिर : उज्यालो अभियान)


मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय आज (मंगलबार) बिहानबाट सुरक्षाकर्मीले कब्जामा लिएको छ ।


संसद् विघटनपछि दुई खेममा विभाजन भएको नेकपाभित्र विभिन्न जिल्लाहरुमा पार्टी कार्यालय कब्जा गर्ने तथा तालाबन्दी गर्ने र यसै विषयलाई लिएर दुई पक्षबीच विवाद सहित झडप नै हुन थालेपछि मलंगवा स्थित नेकपा पार्टी कार्यालय सुरक्षाकर्मीले आफ्नो कब्जामा लिएको हो । हाल नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा ५ जना तथा सशस्त्र प्रहरी समेत नेकपा पार्टी कार्यालयमा बस्न थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पार्टी कार्यालय कब्जामा लिने निहुमा विभिन्न जिल्लामा झडप नै हुन थालेपछि तत्काललाई सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको जानकारी दिए । ‘सम्बन्धित निकायबाट पार्टीको आधिकारिकता नटुंगिएसम्म दुवै पक्षलाई पार्टी कार्यालय खोल्न दिईने छैन’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘गृह मन्त्रालयको निर्देशनमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सुरक्षाकर्मी खटाईएको हो ।’
नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले स्थानीय प्रशासनले गरेको निर्णय सकारात्मक नै भएको जानकारी दिए । ‘त्यो पार्टी कार्यालयमा अध्यक्षको कुर्सी मेरै छ, मेरै नाम छ, मेरो र तेरो भन्ने दाबीको कुरै आउँदैन, आजै मलंगवामा जम्मा भएको मासले चाहेको भए त्यो कार्यालय हाँमीले कब्जामा लिन सकि हाल्थ्यौं नि’, अध्यक्ष पन्तले मंगलबार उज्यालो अभियानसँग भने, ‘तथापी विभिन्न जिल्लामा भएका घटनालाई लिएर स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाउनु सकारात्मक हो, अब आधिकारिकता विवाद समाप्त भएपछि बस्दा पनि केही फरक पर्दैन ।’
मलंगवा नगरपालिका–३, स्थित नेकपाको पार्टी कार्यालय रहेको मनमोहन सामुदायिक भवनको गतवर्ष मात्र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए ।