चारतारे झण्डा ओढाएर मृतक महेन्द्र रामप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसका नेताहरु । (तस्बिर : उज्यालो अभियान)


सिसौट – छिमेकीको कुटपीटबाट ज्यान गुमाएका सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित रामनगर गाउँपालिका–७, सिसौट निवासी महेन्द्र रामको तीन महिनापछि अन्त्येष्टि गरिएको छ ।


संघीय सरकारले मृतकका परिवारलाई ५ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेपछि मृतकका परिवारले रामको शव बुझेर शनिवार अन्त्येष्टि गरेका हुन् । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रामको सिसौटस्थित मनुष्मारा खोलामा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको प्रदेश सभा सदस्य एवं कांग्रेस नेता वीरेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

अन्त्येष्टि स्थलमा पुगेर काँगे्रसका जिल्ला सभापति एवं निवर्तमान संघीय सांसद नागेन्द्र कुमार राय, जिल्ला उपसभापति सुरेन्द्र सिंह, प्रदेश सभा सदस्यद्वय वीरेन्द्र प्रसाद सिंह र उपेन्द्र कुशवाहा, क्षेत्रीय सभापति रामआश्रय साह लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर रामप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रदेश सभा सदस्य सिंहका अनुसार अन्त्येष्टिमा काँगे्रसका स्थानीय नेता कार्यकर्ताको समेत ठूलो उपस्थिति थियो ।
मृतकको परिवारलाई सुरुमा १० लाख दिने भनिएको सुनिएपनि पछि निर्णय भएर आउँदा ५ लाख रुपैयाँ मात्रै रहेको बुझिएको छ । सो रकम मृतकका परिवारले केही दिनभित्र पाउने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
गत असोज २१ गते छिमेकीहरुसँगको विवादका क्रममा कुटपीटबाट घाईते भएका महेन्द्रको उपचार गर्दागर्दै भोलीपल्ट २२ गते वीरगन्जमा मृत्यु भएको थियो । मृतकको शव ३ महिनासम्म नारायणी अस्पताल वीरगञ्जमै रहेको थियो । सो घटनामा संलग्न तीन जना पूर्पक्षमा कारगार चलान भएका छन् भने मुद्दा दायर भएका केही व्यक्ति फरार रहेका सर्लाही प्रहरीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए ।
नेपाली कांगे्रस सर्लाहीले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताको कुटाईबाट आफ्ना कार्यकर्ता महेन्द्रको मृत्यु भएको दाबी सहित मृतकलाई शहिद घोषणा तथा क्षतिपूर्ति स्वरुप मृतकका परिवारलाई १० लाख रुपैंया उपलब्ध गराउन र कुटपिटमा संलग्नलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन भन्दै आन्दोलन चर्काएको थियो । आन्दोलन अन्तर्गत कांग्रेस नेता कार्यकर्ताले गत असोज २८ गते जिल्ला प्रहरी कार्यालय घेराउ गर्ने क्रममा कांग्रेस नेता कार्यकर्ता र प्रहरीबिच झडप समेत भएको थियो । झडपमा परी कांग्रेसका नेता कार्यकर्ता र सुरक्षाकर्मीतर्फ पाँच दर्जन बढी घाईते भएका थिए ।