

मलंगवा – हुलाकी सडकको स्तरोन्नती र नेपाल भारत सीमा खोल्नु पर्ने माग राख्दै सर्लाही सदरमुकाम मलंगवामा शुरु गरिएको रिले धर्ना आइतवार १५ औं दिन सम्म पनि जारी नै रहेको छ ।


सर्वपक्षिय संघर्ष समितिले शहिद पार्कमा आयोजना गरेको रिले अनशन अन्तर्गत आइतवार जनता समाजवादीको स्थानिय नेता कृष्ण कुमार यादव (किशुन) ले नेतृत्व गरेका छन् । यादव चक्रघट्टा गाउँपालिकाका अध्यक्षका प्रत्याशि उम्मेदवार हुन् । यादवलाई चक्रघट्टा गाउँपालिकामा सजपाबाट निर्वाचित वडाध्यक्ष, वडाध्यक्षका प्रत्याशि तथा स्थानिय नेता कार्यकर्ताले साथ दिएका छन् । यादव सहित चक्रघट्टा गाउँपालिकाका नेता कार्यकर्ता आइतवार बिहान ९ बजेदेखि धर्नामा बसेका छन् ।

हुलाकी सडकको हालत दिनप्रति निद नाजुक बन्दै गएको र नेपाल भारत सीमा बन्द हुदाँ जिल्लाबासीमा परेको समस्यालाई ध्यानमा राखी धर्नामा बसेको यादवले बताएका छन् । हुलाकी सडकको स्तरोन्नती हुन नसक्दा त्यसबाट उड्ने धुलोले सडक आसपासका जनजीवन कष्टकर बनेको यादवले बताएका छन् । हिउँदमा धुलोको मार खेप्दै आएका जिल्लाबासीले वर्षायाममा हिलोको समस्या झेल्नु परेको यादवको भनाई छ । मधेशको जनजीवनसंग जोडिएको हालत खराब हुदाँ पनि कुनै सुनवाई नभएपछि आन्दोलनमा उत्रिनु परेको यादवले बताएका छन् । १५ दिन सम्मको धर्नाले पनि राज्यले कुनै सुनवाई नगर्नु चिन्ताजनक रहेको भन्दै यादवले दुखेसो पोखेका छन् ।
धर्नामा चक्रघट्टा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नागेन्द्र प्रसाद साह, वडा नंं ८ का वडाध्यक्ष रामकैलाश राउत, दिनेश साह, बन्हु राउत, राकेश ठाकुर, शिवजी यादव, रामाधार साह लगायतको सहभागिता रहेको छ ।
नेपाल भारत सीमा बन्द हुदाँ बिहेवारीको समयमा आफन्त कहाँ आवत जावत पनि गर्न कठिनाई भएको यादवको आरोप रहेको छ । सीमा बन्द हुदाँ आफन्त कहाँ जान र समानहरु किन्न खेतको बाटो हुदैं सर्वसधारणलाई सीमा पारी जानु परेको यादवले गुनासो गरेका छन् । कोरोनाको बहानमा राज्यले मधेशका जनतालाई दुःख दिने काम गरेको छ ।
हुलाकी सडकको स्तरोन्नती र नेपाल भारत सीमा खोल्नु पर्ने ५ सुत्रिय माग सहित सर्लाहीमा मंसिर २१ गतेदेखि रिले धर्ना कार्यक्रम सुरु गरिएको छ । आन्दोलनका कार्यक्रम अनुसार जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको संयोजकत्वमा गठिन सर्वपक्षिय संघर्ष समितिको आव्हानमा मंसिर २९ गते जिल्ला भरी मसाल जुलुश, ३० गते सदरमुकाम मलंगवा बन्द र पुष १ गते सर्लाही बन्द समेत भएको थियो । धर्नामा जसपाका नेता एवं सांसद् महेन्द्र राय, संघीय सांसद् प्रमोद साह, प्रदेश सांसदहरु सहित नेकपा, नेपाली कांग्रेस, जसपा लगायत पार्टीका नेता कार्यकर्ता सहभागि हुँदै आएका छन् ।