logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

उखुको पैसा नपाउँदा सिभिल ईन्जिनियरिङको सर्टिफिकेट निकाल्न पाएनन् धरेन्द्रले


  • उज्यालो अभियान

उखुको पैसा नपाउँदा ईन्जिनियरिङको सर्टिफिकेट निकाल्न नपाएका धरेन्द्र यादव । (तस्बिर : टंक÷उज्यालो अभियान)
१० जनाको परिवार बस्ने धनकौल गाउँपालिका–५, नयाँटोल स्थित धरेन्द्रको सानो झुपडी । (तस्बिर : टंक/उज्यालो अभियान)

टंक बहादुर क्षेत्री/उज्यालो अभियान

धनकौल – चिनी उद्योगले उखुको पैसा नदिँदा सर्लाहीको धनकौल गाउँपालिका–५ नयाँटोल निवासी एक विद्यार्थीले सिभिल ईन्जिनियरिङको सर्टिफिकेट निकाल्न पाएका छैनन् ।

प्रदेश दुईको अस्थायी राजधानी जनकपुर स्थित कश्यप ईन्स्ट्च्यिूट अफ ईन्जिनियरिङबाट २०७६ चैतमै तीन वर्षे कोर्ष सकेपनि पैसा अभावमा आफूले सर्टिफिकेट निकाल्न नसकेको धरेन्द्रले शनिबार दिउँसो उज्यालो अभियानसँग गुनासो गरे । ‘घरमा ऋण नै ऋण छ, उखु बेचेको पैसा ४ वर्षदेखि उद्योगले नदिँदा पढाई लेखाई त परे जाओस्, हातमुख जोर्नै समस्या हुने अवस्था आएको छ’, शनिबार उज्यालो अभियानको टोली सहित पत्रकारहरुसँग बोल्ने क्रममा धरेन्द्रले आँखाबाट तुरुक्क आँशु झार्दै भने, ‘सर्टिफिकेट निकाल्न नसक्दा कर्णाली प्रदेशमा लोकसेवा आयोगले निकालेको परीक्षामा सहभागि हुन सकिन, उखु खेतीले ऋणमा डुबाएपनि लोकसेवा पास गरेर सरकारी जागिर खानुपर्ला भन्ने आशा थियो, त्यो पनि पैसा अभावले सर्टिफिकेट निकाल्न नसक्दा सकिन, अब कसरी घर व्यबहार धान्ने होला साह्रै चिन्तामा परेको छु ।’

नयाँटोल स्थित सानो झुपडीमा धरेन्द्रका १० सदस्यीय परिवार बस्छन् । धरेन्द्रले सर्टिफिकेट निकाल्न इन्स्टिच्यूटमा २० हजार रुपैंया तिर्नु पर्नेछ ।

धरेन्द्रका दाई हरेन्द्र पुस २ गतेदेखि काठमाडौं स्थित माईतीघर मण्डलामा उखु किसानहरुको आन्दोलनमा सहभागि छन् । गतवर्ष पनि आन्दोलनमा गएका हरेन्द्र यसपाली पनि छिमेकीसँग १० हजार रुपैंया ऋण काढेर काठमाडौं आन्दोलनमा सहभागि हुन गएका भाई धरेन्द्रले बताए ।

‘के गर्नु सर अब त मर्नु न बाँच्नुको अवस्था भईसक्यो, भाईको सर्टिफिकेट निकाल्न सकेको छुईन, ऋणमा चुर्लुम्मै डुबिसकेको छु’, यो पंक्तिकारसँग फोनमा कुरा गर्दै हरेन्द्रले गुनासो गरे, ‘२०७३ सालदेखिको एकलाख रुपैंया भन्दा बढी रकम उद्योगले दिएको छैन, उखुको विउ खरिद, मलखाद, गोडमेल, कटानी, ढुवानी सबैलाई ऋण काढेर तिरिसँके, तर उद्योगले उखुको रकम नदिँदा ऋणको ब्जाज अनि ब्याजको स्याज गर्दा लाखौं ऋण पुगिसक्यो, अब त कसैले ऋण पनि दिदैनन् के गरी खानु होला ?’

सर्लाहीको धनकौल स्थित अन्नपूर्ण सुगर मिलले चार वर्षदेखि उखुको भुक्तानी नदिँदा धनकौल, बसबरिया, बलरा, रामनगर, गोडैता, बरहथवा लगायत पालिकाका हजारौं किसानको विचल्ली भएको छ । नगदे बाली भनिने उखु खेती गर्ने किसानहरु चुर्लुम्म ऋणमा डुबेका छन् । चिनी उद्योगी र सरकारी उदासिनताका कारण उखु खेती नगदे हैन ऋणे बालीको रुपमा परिणत भएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अन्नपूर्णले उखु किसानको १७ करोड रुपैंया दिन बाँकी छ । अन्नपूर्णका संचालक राकेश अग्रवाल विरुद्ध पक्राउ पूर्जी समेत जारी गरिसकिएको प्रजिअ पौडेलले बताए । अन्नपूर्णबाट चिनी विक्रीबापतको रकम जम्मा भईरहेको समेत प्रजिअ पौडेलले जानकारी दिए ।