



बलरा – सर्लाहीको बलरा नगरपालिका स्थित सेढवामा मोटरसाईकल र ट्याक्टर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
शुक्रवार राती ७ः३० बजेतिर बलरा नगरपालिका–१ स्थित सेढवा–मोहनपुर भित्री सडकखण्डमा भएको दुर्घटनामा मोटरसाईकल चालक बलरा नगरपालिका–१ सेढवा निवासी नारायण सिंहका १७ वर्षीय छोरा अंकित सिंहको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका सिहंलाई तत्काल उपचारको लागि रौतहट जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल पछाडि सवार एक युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बलरा नगरपालिका १ निवासी १७ वर्षीय राजिव सहनी रहेको प्रहरीले जनाएको छ । उनको गौरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रौतहट र सर्लाहीको सिमा सडक हथियौलबाट सेढवा जादै गरेको ना. ३ त ४०९० नम्बरको ट्याक्टर र विपरित दिशाबाट आउदै गरेको बिआर ३० जेड ७१४८ नम्बरको मोटरसाईकल आपसको ठोक्किएको थियो । घटना लगतैै फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।