पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)


मलंगवा – सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ ।


उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको बताए । ‘किसानले दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको हो’, प्रजिअ पौडेलले भने, ‘अन्नपूर्णले किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।’ हिजो (बुधबार) स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिन सक्ने एक सुरक्षा अधिकारीले जानकारी दिए ।
अन्नपूर्ण चिनी उद्योगले बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरिया, गोडैता लगायत स्थानीय तहका हजारौं किसानको झण्डै पाँच वर्ष देखिको उखुको भुक्तानी नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् । गत सिजनमा त उक्त उद्योगलाई किसानले उखु नै दिएनन् । उखुको भुक्तानी नपाएर आजित बनेका किसानहरुले केही दिनदेखि काठमाडौंको माईतीघर मण्डलामा निरन्तर धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् । यो पल्ट भुक्तानी नभएसम्म आन्दोलन जारी राख्ने किसानहरुले चेतावनी दिएका छन् । सरकारले पटक–पटक सहमती गर्ने तर भुक्तानी नगराउने गरेकाले यसपटक भुक्तानी नलिई घर नफर्कने किसानहरुको भनाई छ ।
