logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

प्रधानमन्त्री कप छनौट क्रिकेटको पहिलो खेलमा सर्लाही पराजित


  • उज्यालो अभियान

सर्लाहीको टिम । (तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा छनौट हुन भएको प्रदेश स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा सर्लाही पराजित भएको छ ।

बाराको कलैयामा आईतबार दिउँसो उद्घाटन खेलमा पर्साको टिमसँग सात विकेटले पराजित हुँदै सर्लाहीले खराब सूरुवात गरेको छ । टस जितेर पहिलो ब्याटिङ्मा उत्रिएको सर्लाहिले निर्धारित ५० ओभरको खेल अन्तर्गत ३२ ओभर ५ बलमा सम्पुर्ण विकेट गुमाउँदै ९२ रनमै समेटिएको थियो । सर्लाहिका लागि सुधिर चौधरीले ५९ बलमा १ चौक्का र १ छक्काको मद्धतले २७ तथा सोहन यादव १६ र पप्पु दासले नटआउट रहि १६ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ भने पर्साका सैफुल्लाह अंसारीले उत्कृष्ट प्रदर्शन गर्दै ६ ओभर ५ बलमा १ मेडन सहित ११ रन दिई ३ विकेट लिएका थिए । त्यस्तै समसाद अंसारीले ३ एवं सम्साद मंसुरीले २ विकेट झारेका थिए ।

९३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको पर्साले तीन विकेटको क्षति व्यहोर्दै १६ ओभर ३ बलमै ३ बिकेटको नोक्सानीमा जीत हात पार्यो । पर्साका लागि सन्तोष कार्किले नटआउट रहि ४६ बलमा ५ चौका र १ छक्काको सहित ३६ तथा सुरज प्रसाद कुर्मिले २० एवं सैफाली हवारीले नटआउट रहि २० रनको योगदान दिएका थिए । बलिङ तर्फ सर्लाहिका मेराज मिकरानीले २ तथा गुलसन झाले १ बिकेट लिएका थिए । उत्कृष्ट बलिंग गरे वापत पर्साका सैफुल्लाह अंसारी म्यान अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत सोमवार सर्लाहीले बाराबीच भिडन्त हुने प्रदेश क्रिकेट संघका सदस्य निरोज कार्कीले जानकारी दिए । प्रदेश दुईका ८ वटा जिल्ला मध्ये जनकपुरमा सप्तरी, सिराहा, धनुषा र महोत्तरीका टिमबीच तथा सर्लाही, रौतहट, बारा र पर्साका टिमबीच बाराको कलैयामा छनौट प्रतियोगिता भईरहेको छ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि प्रदेश दुईबाट एउटा टिम छनौट भएर राष्ट्रिय खेलमा सहभागि हुने कार्कीले जानकारी दिए ।